global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मोरङमा आकस्मिक खरिदमार्फत सरकारी संरचनाको पुनर्निर्माण गरिने

मोरङमा आकस्मिक खरिदमार्फत सरकारी संरचनाको पुनर्निर्माण गरिने

मोरङमा आकस्मिक खरिदमार्फत सरकारी संरचनाको पुनर्निर्माण गरिने

‘जेनजी’ को प्रदर्शनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षति पुगेका मोरङका सरकारी कार्यालय तथा संरचनाको पुनर्निर्माणका लागि आकस्मिक खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ अनुसार विशेष परिस्थितिमा गर्न सकिने आकस्मिक खरिदको बाटो खोल्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुनर्निर्माणका लागि आवश्यकपर्ने सामग्रीको मात्रा र गुणस्तरसम्बन्धी सूची तयार गरी सोका आधारमा खरिद प्रक्रिया अघि बढाइने निर्णय गरिएको बताए । उनका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी दिँदै अघि बढाइने बैठकले निर्णय गरेको हो ।

प्रदर्शनका क्रममा विभिन्न सरकारी कार्यालय, संरचना तथा सम्पत्तिमा ठूलो क्षति पुगेको थियो । सेवा प्रवाह अवरुद्ध हुन नदिन  र क्षतिग्रस्त कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन तत्काल खरिद प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको प्रजिअ यादवले उल्लेख गरे ।

बैठकले विगतमा सम्झौता भइसकेका आयोजना तथा कार्यक्रमलाई ढिला नगरी अघि बढाउने निर्णय गरेको छ । प्रदर्शनपछि भौतिक संरचनामा क्षति हुँदा काम रोकिएकाले सम्बन्धित निकायलाई तत्काल सञ्चालन गर्न निर्देशन दिने सहमति भएको उनले बताए ।

क्षति पुगेका दमकललाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने निर्णय बैठकले गरेको छ । आगलागी नियन्त्रण गर्ने उपकरण सञ्चालन नहुँदा स्थानीय सुरक्षा व्यवस्थामा जोखिम बढ्ने भएकाले यसलाई अति प्राथमिकतामा राखिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार आन्दोलनबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलनको कार्य सुरु भइसकेको छ । प्रारम्भिक मुचुल्का तयार भइसकेको र पूर्ण मुचुल्का तयार भएपछि क्षति मूल्याङ्कन समितिमा पेस गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी दिए ।

विपद् अवधिमा कालोबजारी र मूल्यवृद्धि हुन नदिन प्रत्येक पालिकास्तरमा नियमित अनुगमन गर्ने, सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने र कृत्रिम अभाव सिर्जना हुन नदिने गरी कार्ययोजना गरिने प्रजिअ यादवले विश्वास व्यक्त गरे ।

प्रदर्शनकारीले जिल्लाका सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएकाले पुनर्निर्माणमा केही समय लाग्ने जनाउँदै तत्कालका लागि अतिआवश्य सेवा सञ्चालनको पहल गरिने प्रजिअ यादवले बताए । आकस्मिक खरिद प्रक्रियामार्फत शीघ्र पुनर्निर्माण सुरु गरिने उल्लेख गर्दै उनले प्रभावित सरकारी सेवा फेरि सहज रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु