गृहपृष्ठ एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११ वटै जिल्लामा गरी नौ सय ६४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एकरएक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ ।

पोखरास्थित हिमालय आँखा अस्पतालमा सूचना अधिकारी कुमार गर्बुजाका अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका दुई, कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका एक/एक र लमजुङका एक गरी हालसम्म पाँच जना बिरामी अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् । दुई जना निको भएर घर फर्केका जनाउँदै उहाँले तीन जना उपचारकै क्रममा रहेका बताए ।

आगामी कात्तिक/मङ्सिरसम्म डेङ्गी र सापुको सङ्क्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । दुवै रोगको सङ्क्रमण वर्षायामपछि बढी देखिने गरेको छ ।

हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा बबिता गुरुङले सेतो पुतलीको संसर्गबाट लाग्ने सापुका कारण आँखाको दृष्टि गुम्नसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताइन । “यो रोग लागेको ४८ घण्टादेखि ७२ घण्टासम्म उपचार नभएमा आँखाको दृष्टि नै गुम्न सक्छ”, उनले भनिन ।

अस्पताल भर्ना भएकामध्ये आँखामा गम्भीर असर पुगेका तीन जनाको शल्यक्रिया गरिएको डा गुरुङले जानकारी दिइन । उनका अनुसार हालसम्म सापू रोग लाग्नुको मुख्य कारण सेतो पुतलीलाई मानिएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि यसको सङ्क्रमण हुने गरेको पाइएको उनको भनाइ छ ।

अस्पतालले सापुबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्यालो सेता बत्ती नबाल्न, साँझ र रातिमा घरको झ्यालढोका बन्द गर्न, बत्ती निभाएर झुलभित्र मात्र सुत्न, साँझपख बालबालिकालाई घर बाहिर जान नदिन सर्वसाधारणमा आग्रह गरेको छ ।

सापुको सङ्क्रमण भएमा एक्कासी एउटा आँखा मात्र रातो हुनु, चिप्रा लाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखामा सामान्य दुखाइ हुनु, आँखाको नानी सेतो हुँदै जानु, दृष्टि कमजोर हुनुलगायत लक्षण देखिने डा गुरुङले बताइन । “समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ, शङ्कास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गई जाँच र उपचार सुरु गर्नुपर्छ”, उनले भनिन, “उपचार ढिलो भएमा दृष्टि गुम्ने, आँखा सुक्ने खतरा हुन्छ ।”

असोजदेखि मङ्सिरसम्म सापूको सङ्क्रमण बढी देखिने गरेको डा गुरुङले जानकारी दिए । पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा सापु रोग भेटिएको थियो ।

नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाएका थिए । नेपालको मध्यपहाडी क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको छ । “दुई वर्षको अन्तरमा यो रोगको सङ्क्रमण देखिन्छ, सन् २०२३ पछि अहिले आएर बिरामी भेटिएका हुन्”, डा गुरुङले भनिन, “सन् २०२१ मा पनि धेरै जनामा यो रोग देखिएको थियो ।”

सापूको सङ्क्रमण समुदायमा फैलन नदिन स्वास्थ्यमा सजगता अपनाउनुपर्नेमा डा गुरुङले जोड दिइन । सापुका बिरामीको हिमालय आँखा अस्पतालले निःशुल्क जाँच तथा उपचार गर्दै आएको छ । शल्यक्रियासहितका सबै सेवा निःशुल्क भइरहेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय सापुसँगै डेङ्गीको सङ्क्रमणको पनि उच्च जोखिम रहेको धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहले बताइन । वर्षा रोकिएपछि घमाइला दिनमा यी रोगको सङ्क्रमण छिटो फैलने हुनाले सर्तकता अपनाउनुपर्नेमा उनले जोड दिए । लामखुट्टको टोकाइबाट बच्नु डेङ्गी सङ्क्रमणबाट जोगिने उत्तम उपाय भएको उनको भनाइ छ ।

डेङ्गीबाट बच्न घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थान भेटिएमा नष्ट गर्नुपर्ने चिकित्सक सिंहले सुझाव दिए । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान लाग्नेलगायत लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनले बताए ।

अधिकांश डेङ्गीका बिरामी सामान्य उपचार र हेरचाहपछि निको हुने गरे पनि कतिपयमा भने यसले जटिलता ल्याउने गरेको चिकित्सक सिंहले उल्लेख गरे। डेङ्गीबाट ज्यान जोखिममासमेत पर्नसक्ने भएकाले सामान्य रोग हो भन्ने लापरबाही नर्गन उनले सर्वसाधारणलाई आग्रह गरे ।

डेङ्गी हुँदा शरीरलाई प्रशस्त झोलिलो पदार्थ र आरामको जरुरी हुने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउ । डेङ्गी सङ्क्रमणका बेला आफूखुसी औषधि सेवन गर्न नहुने उनको भनाइ छ ।

 

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु