गृहपृष्ठ उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको उद्योग मन्त्रालयको २५० रोपनी जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन् । उक्त जग्गामा अन्तरराष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको सहमतिपत्रसम्बन्धी स्थानीयले असहमति जनाउँदै यहाँ बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

आज सूर्यविनायक नगरपालिका–८ जगातीमा स्थानीयको बृहत् भेलाले स्थानीयसँग कुनै सरोकार नराखी नगरपालिकाले एकलौटी रूपमा निर्णय गरेर एन्फालाई जग्गा उपलब्ध गराउने सन्दर्भमा गरेको सिफारिसमा असशमति जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को प्रस्तावमा नगरपालिकाले रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिएसँगै उक्त जग्गामा रङ्गशाला निर्माण हुने विषय चर्चामा आएको छ ।

सङ्घीय सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहेको २५० रोपानी जग्गामा चिनियाँ सरकारद्वारा निर्मित चाइनिज इँटा तथा टायल कारखाना सरकारले निजीकरण गरेपछि विगत २० वर्षदेखि भक्तपुर इँटा तथा टायल कारखाना सञ्चालन हुँदै आएको थियो ।

मन्त्रालयले कारखानालाई इँटा तथा टायल उद्योग सञ्चालनका लागि सम्झौता नविकरण नगरे बन्द हुने जनाएपछि उक्त जग्गामा विभिन्न निकायले बहुउद्देश्यीय परियोजनासहित संरचना निर्माणका लागि माग गर्दै आएका छन् ।

उक्त जग्गामा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का पोलिटब्यूरो सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालय एउटै ठाउँमा राख्नुपर्ने प्रस्ताव आफू मन्त्री हुँदा अगाडि बढाएको थियो ।

त्यसपछि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले पनि उक्त जग्गामा अस्पताल भवन बनाउन माग गरेको थियो भने नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाले ख्वपः विश्व विद्यालयको भवन निर्माणका लागि सो जग्गा माग गर्दै आएको छ ।

यसबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केहीदिन अघि प्रतिनिधिसभामा उक्त जग्गा ख्वपः विश्व विद्यालय निर्माणका लागि उपलब्ध गराउन माग गरेको थियो । यता स्थानीयवासीले भने मानव बस्तीको बीचमा रङ्गशाला बनाउँदा समस्या आउने भन्दै बहुउद्देश्ययी भवनसहितको संरचना बनाउन माग गरेका छन् ।

आज यहाँ बहुउद्देश्यीय परियोजना निर्माण समन्वय समितिद्वारा आयोजित छलफलमा समितिका अध्यक्ष नविन प्रजापतिले स्थानीयसँग समन्वय, सहकार्यबिना कुनै सुझाव नलिई रङ्गशालाका लागि प्रस्ताव अगाडि बढाइनु दुःखद् भएको भन्दै स्थानीयसँग समन्वय गर्न सरोकार भएका निकायलाई आग्रह गरे ।

विगत पाँच वर्षदेखि यस जग्गामा बहुउद्देश्यीय बृहत् परियोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, उद्योग मन्त्रालयका मन्त्री र मन्त्रालयमा पत्र बुझाइसकिएको जनाउँदै अहिले रङ्गशाला निर्माणको विषयले स्थानीयलाई तरङ्गित बनाएको बताए ।

अध्यक्ष प्रजापतिले भने, “हामी रङ्गशालाको विरोधी होइनौँ, तर स्थानीयवासीसँग सरोकार राख्नुपर्छ भन्ने हो । रङ्गशाला अलिभित्रको जग्गामा पनि बनाउन सकिन्छ । यहाँ भारतको गान्धी पार्कमा जस्तो संरचना निर्माण माग गर्दै आएका छौँ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।”

समन्वय समितिले जमिनको सतहभन्दा मुनीको भागमा तीनतले ‘अण्डरग्राउण्ड पार्किङ्ग’सहितको पूर्वबाट आउने सम्पूर्ण यातायातका साधनका लागि बसपार्क निर्माण गर्नुपर्ने, इभी सवारीका लागि ठूलो चार्जिङ्ग स्टेसन बनाउनु पर्ने, अन्तरराष्ट्रियस्तरको सभाहल निर्माण गरिनुपर्ने, अन्तरराष्ट्रियस्तरको व्यावसायिक प्रर्दशनीस्थल निर्माण गरिनु पर्ने, सूर्यविनायक नगर अस्पतालको क्षमता वृद्धि गरी ट्रमा सेन्टर बनाइनु पर्ने, भक्तपुरका सम्पूर्ण सरकारी कार्यालय यहाँ राखिनुपर्ने, भारतको नयाँ दिल्लीस्थित गान्धी चोकको पालिकाबजारजस्तै व्यवस्थित बजार बनाइनु पर्ने, व्यवस्थित होटल तथा लज, पौडी पोखरीलगायत संरचना एउटै ठाउँमा निमाण गरिनुपर्ने माग राखेको छ ।

आजको छलफलमा जगाती आदर्श टोल विकास संस्था, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति–१, डाँगाचा टोल सुधार समाज, सिम्रिक टोल सुधार समिति, चोलिङग गणेश टोल सुधार समिति, तौडोल छाप खानेपानी उपभोक्ता समिति, डाँगाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त रूपमा ती माग राखेका छन् ।

छलफलमा डाँगाचा उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर माक, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति–१ का अध्यक्ष तुलसीनारायण लाखेमरु, स्थानीय सिद्धिराम त्यातलगायतले समितिले प्रस्ताव गरेको डिपिआरलाई सम्बोधन गर्दै अगाडि बढेमा रङ्गशाला निर्माणमा स्थानीयले सहयोग गर्ने बताए ।

यसअघि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले एन्फाका महासचिव किरण राईलाई उक्त जग्गामा रङ्गशाला निर्माणका लागि औपचारिक रूपमा प्रस्ताव हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु