गृहपृष्ठ मानव बेचविखन तथा ओसारपसारका घटना बढ्दै
मानव बेचविखन तथा ओसारपसारका घटना बढ्दै
काठमाडौं । नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।
शाखाका अनुसार आव २०६८/६९ देखि आव २०७४र७५ को अवधिमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्दाका रुपमा दर्ता भएका उजुरीहरू र मुद्दामा पीडितरप्रभावित व्यक्तिको सङ्ख्यामा झण्डै तेब्बरले वृद्धि भएको छ ।
तथ्याङ्क अनुसार आव २०६८/६९ मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ११८, २०६९/७० मा १४४, २०७०/७१ मा १८५, २०७१/७२ मा १८१, २०७२/७३ मा २१२, २०७३/७४ मा २२७ र २०७४/७५ मा ३०५ जना पीडित भएका छन् । सो अवधिमा ५५ जना पुरुष समेत प्रभावित वा पीडित भएको देखिएको छ ।
तथ्याङ्क अध्ययन गर्दा अहिले सम्म विवाहित भन्दा अविवाहित महिला बढी पीडित भएको देखिएको छ । सात वर्षको अवधि ७५१ अविवाहित र ६२९ विवाहित महिला बेचविखन तथा ओसारपसारमा परेका छन् ।
यस अवधिमा महान्यायाधिवक्ताको कार्यालय र त्यसअन्तर्गतका सरकारी वकिलका कार्यालयहरूबाट दायर बेचबिखन र ओसारपसारका अधिकाँश मुद्दामा फैसला हुन सकेको छैन भने फैसला भएका मध्ये धेरैमा अभियुक्तले सफाइ पाएका छन् ।
मन्त्रालयले ओसारपसारका घटनामा कमी ल्याउन सोही मन्त्रालयका सचिवको संयोजकत्वमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध एक राष्ट्रिय समिति गठन गरेको छ । यसमा पीडित पक्षको प्रतिनिधित्व अधिकारकर्मीबाट गराउने व्यवस्था गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखा प्रमुख एवं उपसचिव रोशनीदेवी कार्कीे वैदेशिक रोजगारका क्रममा एक काम भनेर अर्को काम लगाउने विषय पनि बेचबिखन भित्र पर्ने बताए। खुल्ला सिमानाका कारण अनुगमन प्रभावकारी नभएको उनको तर्क छ ।
अङ्ग प्रत्यारोपण तथा घरेलु कामका लागि महिला मात्र नभएर पुरुष समेत ओसारपसारको शिकार हुने गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएका देशमा समेत अन्य मुलुकको विमानस्थलबाट छल गरेर जाने प्रवृत्तिले पनि समस्या बढेको मन्त्रालयको भनाइ छ ।
रासस
प्रकाशित समय : ०५:४६ बजे



















