global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय कोदो दिवस मनाइँदै

राष्ट्रिय कोदो दिवस मनाइँदै

राष्ट्रिय कोदो दिवस मनाइँदै

कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै छ ।

मन्त्रिपरिषद्को गत असार तेस्रो साताको बैठकले गरेको निर्णय अनुसार आज पहिलो राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो ।

सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले पनि कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेनागृहलेसमेत कोदोका परिकार नियमित बनाउने गरेको छ । केही वर्षअघि दुवै छाक भातका लागि मरिहत्ते गर्नेले आजको दिनमा स्वास्थ्यका लागि कोदोको खोले र रोटी खान थालेका छन् ।

कोदोका परिकार कहाँ पाइन्छ भनेर धेरैतिर मानिस भौँतारिएर हिँड्ने गरका छन् । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य छन् । पोषणका लागि कोदोका अनाज नियमित खानुपर्ने चिकित्सकले सल्लाह दिन थालेका छन् । यस अवसरमा कोदो दिवस मूल समारोह समिति भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसले पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोदो दिवससम्बन्धी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय किसान समूह महासङ्घ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज)ले पनि आज कार्यक्रम गर्न लागेको छ । कृषि विज्ञ डा कृष्णप्रसाद पौडेल भविष्यमा खाद्य सङ्कट हुने भन्दै समयमा नै कोदो संरक्षण गरेर राख्नुपर्ने बताउछन । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात हुने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने उनले बताए । राम्रोसँग भण्डारण गरेमा कोदो सयौँ वर्ष सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने कृषि विज्ञ पौडेलको भनाइ छ ।

कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने बताइन्छ । नेपाल कुपोषणको दुष्च्रकमा फसेको र विद्यालय पढ्ने बालबालिका कुपोषणबाट पीडित भइरहेकाले यसबाट बच्न कोदोजन्य बालीको उत्पादन प्रवद्र्धन गर्नुपर्ने कृषि विज्ञहरुको भनाइ छ ।

कृषि मन्त्रालयले कोदो प्रवद्र्धनको मुख्य अधिकारीका रुपमा सहसचिव रामकृष्ण श्रेष्ठलाई तोकेको छ । पछिल्लो समयमा कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन तथा आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सात करोड १५ लाख बराबरको कोदो आयात भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७/७८ मा सात करोड २२ लाख, आव २०७९/८० मा ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु