global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खिर खाएर मनाइयो साउन १५

खिर खाएर मनाइयो साउन १५

खिर खाएर मनाइयो साउन १५

सांस्कृतिक रुपमा मनाइँदै आएको साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइएको छ ।

साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । घर, कार्यालय एवं साथीभाइ जम्मा भएर खीर खाने चलन बढ्न थालेको छ । खीरको संस्कृति प्रवद्र्धन गर्न कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तु मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन ।

साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । घाँस पाइने बेलामा गाई, भैँसीले दूध पनि धेरै दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई खीर खुवाउने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने चलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउछन । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् । चामल, साबधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ ।

साबधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउखट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको छ । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ । यसैले खीरलाई राम्रो खाद्यपदार्थ मानिन्छ ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु