बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव
वि.सं.२०८२ साउन १२ सोमवार १०:३६
shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (नेपाली कांग्रेस संसदीय दलका नेता) विरुद्ध उनकै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेले यस विषयमा छिटो निष्कर्षमा पुग्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ।
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमा २१ जना सांसदले हस्ताक्षर गरेका छन्, जसको नेतृत्व कांग्रेस सांसद इन्द्र बानियाँ ले गरेका छन्। यद्यपि, मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन्।
नेकपा एमालेका बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले यो नेपाली कांग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने वा हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारेका छन्। उनले प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेलामा प्रदेश सरकारलाई अझ अस्थिर बनाउनु नहुने एमालेको सुझाव रहेको बताए।
उनले भने, “बागमती प्रदेशको मुख्यमन्त्रीज्यूको विषयमा नेपाली कांग्रेसका सांसदहरूबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ। यो उहाँहरूको नितान्त पार्टीभित्रको समस्या भएकाले पार्टीको चासो हो। हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन। नितान्त उहाँहरूको विषय हो। जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो।”
























