गृहपृष्ठ पूर्व राष्ट्रपति भण्डारी एमाले राजनीतिमा आउनको लागि परिस्थिति अनुकूल बन्न सकेन :पूर्ण बस्नेत
पूर्व राष्ट्रपति भण्डारी एमाले राजनीतिमा आउनको लागि परिस्थिति अनुकूल बन्न सकेन :पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमाले राजनीतिमा आउनका लागि परिस्थिति अनुकूल बन्न नसकेको बताएका छन् ।
बस्नेतले नेपली कांग्रेसका सभापति शेरबहादुर देउवाले भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरामा गम्भीर असहमति देखाएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा विद्यालाई रोक्न बाध्य भएको बताएका छन् ।
बस्नेत भन्छन्, ‘अहिलेको परिस्थितिमा विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने कुरा केपी ओलीले चाहेर सम्भब थिएन । त्यसको लागि शेरबहादुर देउवाले अनुमोदन गर्नुपर्छ तर देउवाले केही दिन अघि प्रधानमन्त्री ओलीसँगको भेटमा सो विषयमा स्ट्रङ्गली विरोध जनाए । प्रधानमन्त्री पद धरापमा पार्ने सम्मको देउवाको अभिव्यक्तिबाट ओली त्यसै दिन बेस्सरी हच्किए ।’
बस्नेत विद्यालाई एमाले राजनीतिमा स्थापित गराउने ओलीको भित्री चाहना हुँदाहुँदै परिस्थिति अनुकूल हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘ओलीसँग अहिले लगभग सबै दल र नेताहरु चिढिएका छन् । देउवा चिढीएको दिन यो सरकार ढल्छ । यो सबै बुझेर केपी ओलीले विद्यालाई पार्टीमा ल्याउने कुरालाई केही समयको लागि स्थगन गरेका हुन् ।’
विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि हुन नपाउने कुनै ठूलो कुरा नभएको बस्नेत दाबी गर्छन् । उनी त्यसैपनि विधान महाधिवेशनले नेतृत्व चयन नगर्ने भएकोले त्यसले कुनै खास अर्थ नराख्ने बताउँछन् । अहिलेको सन्दर्भमा विद्या भण्डारीको एमालेको पार्टी सदस्यता भन्दा ओलीको लागि सरकारको नेतृत्व ठूलो भएको उनको तर्क छ ।
पार्टीको महाधिवेशनसम्म राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ ओली सोही अनुसार निर्णयमा पुग्ने र ओलीकै निर्णयले नै विद्याको राजनीतिक भविष्य निर्धारण हुने उनको भनाइ छ ।
प्रकाशित समय : १०:०२ बजे




















