global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाका सदस्यहरुले छाउपडी प्रथाको अन्त्य, सिँचाइको व्यवस्था, विद्युत् बक्यौता उठाउने र विपद्मा जोखिम न्यूनीकरणलगायत समसामयिक विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
सभाको आजको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले अन्नको आयात बढ्नेतर्फ सङ्केत गर्दै अन्नभण्डारको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले मलखाद, बीउ र सिँचाइको उपलब्धता गराउन सरकारसँग माग गर्दै सुनकोशी मरिन डाइभर्सन, सुनकोशी कमला डाइभर्सन, चन्द्र नहर र बाग्मतीको व्यवस्थापन गर्न सुझाव दिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अहिलेको अर्थतन्त्रको पुनःसंरचनाको आवश्यकता औँल्याए । उनले सामुदायिक अर्थतन्त्रका सम्भावनबारे चर्चा गर्दै यसले नेपालको विशिष्टता र मौलितकतामा वस्तुवादी र सान्दर्भिक हुने धारणा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सर्पले डसेर ज्यान गुमाएकी कमला आउजीको घटनाको उदाहरण दिँदै त्यस्तो कुप्रथाको निरन्तरतालाई कुनै किसिमबाट प्रशय नदिन आग्रह गरिन । उनले बालिका तथा महिलाको सुरक्षाको प्रत्याभूतिका लागि सरकार गम्भीर हुनुपर्ने बताइन ।
नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको छाउगोठमा महिलाको मृत्युबारे छानबिन गर्न माग गरिन । उनले छाउपडी गोठ पुनःनिर्माणमा रोक लगाउनुपर्ने बताइन ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हज गर्न जानेहरुको आकस्मिक उपचार, यातायात खर्चलगायत विषयमा सभाअध्यक्षमार्फत गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले ‘डाइर्भसन’को अभावले किसान सिँचाइ पम्पिङ सेट चलाएर खेती गर्न बाध्य भएका बताए । उनले मधेश प्रदेशमा सिँचाइको अभावबारे सरकारको ध्यानाकर्षण गराए । उनले भने, “देशको पुरानो चन्द्र नहरमा पानीको खाँचोमा पूर्ण रुपमा सिँचाइ  सुविधा दिन सकेको छैन । यसमा निर्भर किसान प्रभावित हुँदै आएका छन् ।”

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु