global ime bank Long Banner Ad

गृहपृष्ठ समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा खस क्षत्री एकता समाज नेपालको स्थापना

समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा खस क्षत्री एकता समाज नेपालको स्थापना

समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा खस क्षत्री एकता समाज नेपालको स्थापना

काठमाडौं । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने मूल मान्यताका साथ हनुमान जयन्तीलाई आफ्नो स्थापना दिवसका रूपमा घोषणा गर्दै खस क्षत्री एकता समाज नेपालको स्थापना गरिएको छ ।

पूर्वप्रशासक एवं समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको यस संस्थाले राज्य, समाज र नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै विधिसम्मत, उत्तरदायी र व्यवहारिक रुपमा समुदायको ढोका खोल्ने संकेत गरेको छ ।

संस्थाले सुरुआती चरणमै संगठन विस्तारको सशक्त संकेत दिएको छ । यही अभियान अन्तर्गत असार २८ गते नागार्जुन नगरपालिका वार्ड नं. १ मा आयोजित कार्यक्रममार्फत प्रल्हाद क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । सो अवसरमा स्थानीय ३१ जनाले आजीवन सदस्यता लिँदै संस्थाप्रति आस्था प्रकट गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले भने, ‘समुदायको रक्षा साथै देशको समग्र हितका लागि भनेर खोलिएका यस्ता संस्थाहरु देशमा धेरै संख्यामा छन् तर प्रभावकारी संयोजन र साझा कार्यदिशा नहुँदा ती संस्थाहरूको शक्ति खेर गइरहेको छ । हामी अब बिखण्डन होइन, एकताबाट बलियो संस्था बनाउने तयारीमा छौं ।’ त्यसै गरी संस्थाका महासचिव एचबि खड्काका अनुसार देशभर छरिएर रहेका यस्ता समान उद्देश्य बोकेका संस्थाहरूलाई एकीकृत गर्दै एउटै प्रभावशाली साझा संस्थामा रुपान्तरण गरिनेछ । यसका लागि केन्द्र, जिल्ला हुँदै पालिका स्तरसम्म संगठन विस्तार गरिने लक्ष्य राखिएको छ । पालिकालाई नै संस्थाको कार्य सञ्चालनका लागि रणनीतिक तवरबाट अगाडि बढाउने लक्ष्य राखिएको छ, खड्काले भने । संस्थाले ‘सबैका लागि सबै’ भन्ने नारालाई केवल प्रचारका लागि मात्र नभइ कार्यदिशाको मेरुदण्ड बनाउने अठोट लिएको छ ।

पूर्व प्रशासक चिरञ्जिवी थापाले नेपाल आजको अवस्थामा पुग्न थापा काजीहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै त्यो गौरवमय इतिहास कहिल्यै विर्सिन नहुने बताएका छन्। संस्थाले खस क्षत्री समुदायको मात्रै नभई सबै नेपालीको हितलाई मध्यनजर गर्दै कार्य गर्ने पूर्व प्रशासक समेत रहेका संस्थाका केन्द्रीय सदस्य सन्त बहादुर बस्नेतले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका अन्य तदर्थ सदस्यहरू, सामाजिक अभियन्ता, पूर्व कर्मचारी, युवाहरू, विभिन्न पेशा र क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थापनाको प्रारम्भिक चरणमै नागार्जुन नगरपालिका स्थित वार्ड नं. १ मा समिति गठन गरिनुले संस्था कार्यान्वयनमुखी सोचका साथ अघि बढिरहेको देखिन्छ । संस्थाले काठमाडौंको कुनामा बसेर मात्रै नेतृत्व गर्ने होइन देशभरका प्रत्येक वडासम्म पुगेर जग बसाल्ने पक्षमा लाग्नुपर्छ, वडा समिति अध्यक्ष प्रल्हाद क्षत्रीले बताए ।

संस्थाले निकट भविष्यमा जिल्लास्तर र प्रदेशस्तरमा समेत संगठन विस्तार गर्दै राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ । त्यहाँबाट विधान, स्थायी समिति, नाम र भावी कार्ययोजना औपचारिक रूपमा पारित गरिने बताइएको छ । स्थापना पश्चातको पहिलो कार्यक्रममा देखिएको सहभागिता, प्रतिबद्धता र संगठनात्मक सोचले यो संस्था वैचारिक मात्र नभई व्यवहारिक पनि अगाडि बढ्ने आशा बढाएको सहभागिहरुले बताएका छन् ।

प्रकाशित समय : १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु