गृहपृष्ठ सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री एवं पूर्वसांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन । रेग्मीको अष्ट्रेलियामा उपचारका क्रममा यही असार २३ गते निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । पूर्वमन्त्री एवं २०१५ का सांसद रेग्मीको निधनको खबरले दुःखीत बनाएको उल्लेख गर्दै उनले रेग्मीले पुर्याएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहिरहने बताएका छन ।
स्व रेग्मी २०१५ सालको प्रथम आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं ९३ पाल्पा पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वको २०४७ सालको अन्तरिम सरकारमा उनि आवास तथा भौतिक योजनामन्त्री थिए ।
पाल्पा तानसेन नगरपालिका–२, मेहलधारामा जन्मनुभएका रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।
प्रकाशित समय : २१:०८ बजे


















