काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लहानमा स्थानीयले सुरू गरे स्वतस्फूर्त सरसफाइ अभियान

1.94K
shares

लहान नगरको सहरी क्षेत्रमा सरसफाइ चुनौती बन्दै गइरहेका बेला स्थानीय बासिन्दाले स्वतस्फूर्त रूपमा सरसफाइ अभियान सुरू गरेका छन् । लहान–८ हुलाक टोलका बासिन्दाले टोल विकास समिति गठन गरी टोलमै सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।

टोल विकास समिति अध्यक्ष देवेन्द्र कामैतका अनुसार केही दिनमै थालिएको अभियान सामूहिक प्रयासद्वारा प्रभावकारी बन्दै गएको छ । “हामीले दुर्गन्ध र फोहर हटाउने मात्र होइन, टोललाई नै सुन्दर बनाउने लक्ष्य लिएका छौँ”, अध्यक्ष कामैतले भने।

अभियानमा लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साह र नगरप्रमुख महेशप्रसाद चौधरीले सहभागिता जनाएका छन् । नगरप्रमुख चौधरीले हुलाक टोलवासीको सक्रियता अन्य वडाका लागि प्रेरक बनेको भन्दै अभियानलाई प्रशंसा गरेका छन ।

फोहरलाई गल्ने र नगल्ने भनेर छुट्याउने, माइकिङ, पर्चा र पम्पलेटमार्फत जनचेतना फैलाउने कार्यसमेत गरिएको छ । सडक र नहर क्षेत्र आसपास अब जथाभावी फोहर देखिन्न । स्थानीयको भनाइअनुसार पहिले नाक थुन्दै हिँड्ने बाटो अहिले सफा र आकर्षक देखिन थालेको छ ।

हुलाक टोलमा नयाँ बसोबास गरेका शिक्षक, कर्मचारी र व्यापारीजस्ता शिक्षित र सचेत वर्ग सरसफाइमा अग्रसर देखिएका छन् । लहान नगरपालिका वडा नम्बर ४ देखि १० सम्म सरसफाइ अभियान तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ ।

यसैबीच, लहान नगरपालिकाले हालै सम्पन्न १६औँ नगरसभाबाट मुख्य सडकको दुवै किनारमा हरेक सय मिटरमा डस्टबिन राख्ने निर्णय गरेको छ । नगरका पदाधिकारीका अनुसार फोहोरमैला सङ्कलनलाई नियमित र व्यवस्थित बनाउँदै लैजाने तयारी नगरपालिकाले गरेको छ ।