गृहपृष्ठ रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल
रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल
अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम छन। उनले तीस भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसकेकाछन ।
नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका रुपमा काम गरिरहेका खनालले आठ वर्षको अन्तरालमा नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा काम गरेका छन ।
विसं २०७४ ‘बाह्र दुर्वासा’ नामक नाटकमा अभिनय गरेपछि उनि चलचित्रमा व्यस्त भए । लगातार चलचित्रको फाँटमा क्रियाशीलन भएका अभिनेता खनाललाई आफ्नो अभिनयको अनुसाशन कायम नभएको आभाष भएपछि दुई महिना समय निकालेर रङ्गमञ्चमा प्रस्तुत भएका थिए ।
यसअवधिमा उनले तीनदेखि चार चलचित्रमा काम गरिसक्थे, तर नाटकले दिएको सन्तुष्टी सायदै प्राप्त गर्नुहुन्थ्यो होला । त्यही भएर उनि आफ्नो पात्रलाई नयाँ रुप दिन दुई महिनादेखि मेहनत गरिरहेका छन ।
“अमेरिकाबाट स्वदेश फर्किएपछि नाटकघरबाट अभिनयको सुरुआत गरेको थिएँ । रङ्गमञ्चमा काम गर्दा आफूलाई बुझ्ने मौका पाउँछु, म आफूलाई सिक्न र बुझ्न यहाँ आउने गर्छु”, अभिनेता खनालले भने ।
त्यसो त उनले चलचित्रमा मेहनत नगरेका भने होइन, आफूले पाएको भूमिकालाई निर्वाह गर्न अभिनेता खनालले पहिले जस्तो थप मेहनत गर्नुपर्दैन । न त निर्देशकले नै फरक किसिमले प्रस्तुत गर्ने जाँगर देखाउने गरेका छन् । दर्शकले रुचाइरहेकै स्वरूपमा निर्देशकले उनलाई पर्दामा ल्याइरहेका छन । सोही कारण पनि अभिनेता खनालले नाटक गर्ने समय आयो भन्ने महसुस गरे ।
अभिनयका नयाँ शैली र भावलाई बुझ्दै आफूभन्दा कनिष्ट कलाकारसँग उही उर्जाका साथ काम गर्ने अठोटले अभिनेता खनाललाई पुनः रङ्गमञ्चमा रहरीयाभन्दा पनि मेहनती कलाकारको रुपमा परिभाषित गर्दैछ । किनकि रङ्गमञ्चमा आउने र काम गर्ने इच्छा धेरै कलाकारको हुन्छ, प्रयास पनि गर्छन् तर यहाँ चाहिने समर्पण, लगनशीलता र निरन्तरता कमै कलाकारमा देख्न पाइन्छ ।
अभिनेता खनालले रङ्गमञ्च प्रति देखाएको सम्मानले उनको यो यात्रालाई धेरै अगाडिसम्म पु-याउने अनुमान नाट्यकर्मीले गरेका छन् । किनकि पछिल्लो समय रङ्गमञ्चलाई चलचित्रसम्म पुग्ने भर्याङ बनाउने कलाकारको भिडमा अभिनेता खनालले आफ्नो कलाकारिता बचाउन रङ्गमञ्च आएका छन ।
प्रकाशित समय : १७:२७ बजे


















