global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटकीयस्थल सोवाङधुरीमा खानेपानीसहितको पूर्वाधार निर्माण

पर्यटकीयस्थल सोवाङधुरीमा खानेपानीसहितको पूर्वाधार निर्माण

पर्यटकीयस्थल सोवाङधुरीमा खानेपानीसहितको पूर्वाधार निर्माण

रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा जाने पर्यटकको सुविधाका लागि खानेपानीसहितको पूर्वाधार बनाइएको छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङधुरीको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय बनाइएको हो ।

गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख र स्थानीयवासीको रु ३१ हजार ७०० बराबरको श्रमदाननमा शौचालय निर्माण गरिएको वडासचिव सुमन बुढाथोकीले जानकारी दिए। समुद्री सतहबाट तीन हजार ८४० मिटरको उचाइमा अवस्थित सोवाङधुरीमा ढुङ्गा नपाइने भएकाले शौचालयको सेफ्टीट्याङ्की बनाएर काठले बारिएको र टिनले छाएर शौचालय बनाइएको छ ।

त्यसैगरि शौचालय परिसरमा चारवटा पाँच सय लिटरको हिलट्याङ्क ड्रम राखेर धारासमेत जडान गरिएको वडासदस्य चेतन गर्बुजाले जानकारी दिए । उक्त ड्रममा धुरी नजिकै रहेको खानेपानीको मूलबाट पाइपमार्फत पानी ल्याएर जम्मा गर्ने व्यवस्था गरिएको छ । शौचालय बनाउन स्थानीयवासीसँगै वडा सदस्य प्रेमबहादुर पुन र चेतन गर्बुजाले एक सातासम्म निर्माणस्थलमा बसेर श्रमदान गरेको थियो ।

चिमखोलाबाट पात्लेखेत–सिजी–थामडाँडा हुँदै करिब सात घण्टाको पैदलयात्रामा सोवाङधुरी पुग्न सकिन्छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङधुरी एकैठाउँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई अवलोकन गर्न सकिने ठाउँका रूपमा परिचित छ । सोवाङधुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीको समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङधुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु