गृहपृष्ठ पेट्रोलियम पदार्थको विक्रीमात्रै होइन, निगमले थुप्रै बैकल्पीक परियोजनामा काम गरिरहेको छ :निर्देशक डा. भट्ट

पेट्रोलियम पदार्थको विक्रीमात्रै होइन, निगमले थुप्रै बैकल्पीक परियोजनामा काम गरिरहेको छ :निर्देशक डा. भट्ट

पेट्रोलियम पदार्थको विक्रीमात्रै होइन, निगमले थुप्रै बैकल्पीक परियोजनामा काम गरिरहेको छ :निर्देशक डा. भट्ट

नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो । २०२७ सालमा स्थापना भएको निगमले स्थापनाकालदेखि हालसम्म निरन्तर पेट्रोलियम पदार्थको सहज आपुर्ती गरिरहेको छ । खासगरी डिजेल , पेट्रोल र हवाई इन्धन सहित अन्य प्रज्वलनशिल पदार्थको आयात तथा वितरण गर्दै आएको निगमले पछिल्लो समय के कसरी सेवा प्रवाहा तथा अन्य कार्यहरु सम्पादन गरिरहेको छ भनेर चासो गर्दै न्युज कारोबारको टिम बिहिबार निगमको मुख्य कार्यालय टेकु पुगेको थियो । टेकुस्थित कार्यालय पुगेर न्युज कारोबारका कार्यकारी सम्पादक श्याम खतिवडाले नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डीका प्रसाद भट्टसँग निगमको समसामयीक विषयमाथी संवाद गरेका थिए ।

सुरुमा खतिवडाले डा. भट्टलाई अहिले देशमा भैरहेको पेट्रोलियम पदार्थको आपुर्ती तथा वितरणको अवस्था कस्तो छ ? भनेर सोधेका थिए । हेरौं उहाँको जवाफ जस्ताको त्यस्तै ।

विशेष रुपमा नेपाल आयलनिगमको मुख्य दायित्व भनेको देश भरि पेट्रोलियम पदार्थको सहज आपुर्तिको व्यवस्था मिलाउने हो । हाम्रो देशमा पेट्रोलियम पदार्थ उत्पादन नहुने हुदाँ पुरै भारत सँग निर्भर हुनुपर्ने अवस्था छ । भारत सँगको व्यापारलाई ब्यालेन्स बनाएर सहज रुपमा पेट्रोलियम पदार्थ आयत गर्ने र आयत भएको पेट्रोलियम पदार्थलाई सम्बन्धित ठाउँ–ठाउँमा लगेर भण्डारण र वितरण गर्ने आयल निगमको उद्देश्य र कार्यन्वयन पक्ष हो । पहिला पहिला पेट्रोलियम पदार्थको मुल्यमा घटबड हुदाँ बन्द हडताल हुने गर्दथ्यो तर यस पटक हामीले पेट्रोलियम पदार्थको मुल्यलाई स्वचलित मुल्य प्रणालीलाई ध्यानमा राखेर अन्तराष्ट्रिय मुल्य सँग समायोजन गर्दै अगाडी बढेका छौँ । पेट्रोलियम पदार्थको मुल्यलाई अन्तराष्ट्रिय मुल्यसँग कसरी संयोजन गर्ने, स्वचलित मुल्य प्रणालीलाई कसरी लागु गर्ने भन्ने कुरा २०७१ सालमा छलफल गरेर सुरु गरेका थियौँ । यसै कारण हामीले आर्थिक वर्षको अन्तिम अन्तिममा आईपुग्दा सम्म पनि कुनै बन्द हडताल जस्ता समस्यालाई पुर्ण रुपले निराकरण गरेर अगाडि बढ्न सफल भएका छौँ अघि बढिरहेका छौँ ।

दोस्रो पटक निगमको नेतृत्वमा आउनुभएको पनि लामो समय भयो यो अवधिमा के कस्ता उपलब्धीहरु हाँसिल भए त ? स्वचालित मुल्य प्रणाली कत्तिको प्रभावकारी छ ?
२०७१ साल यता हेर्नुभयो भने त्यस्तो खालको केहि समस्या आएको छैन । बिचमा स्वचलित मुल्य प्रणालीलाई ब्रेक गरेको देखिन्छ, म आएको लगभग १५ महिना भयो, म आएपछि कहिल्यै ब्रेक भएको छैन । १५/१५ दिनमा मुल्य अनिवार्य सर्वजानिक भएकै हुन्छ यसले गर्दा निगमको आर्थिक अवस्था पनि मजबुद भएको छ । हामीले आफुखुसी गर्नुभन्दा पनि अन्तराष्टिय« मुल्यलाई ध्यानमा राखि परल मुल्यलाई बुझेर परल मुल्यमा १÷२ प्रतिशत नाफा राखेर पेट्रोलियम पदार्थ विक्रि वितरण गरिरहेका छौँ । यो पनि आयल निगमको आर्थिक अवस्था मजबुदको एउटा कारण हो । मुलभुत रुपमा यसको श्रेय स्वचलित मुल्य प्रणालीलाई दिनुपर्छ । यस प्रणालीलाई हामीले इमान्दारीका साथ उपभोक्तालाई विश्वास हुने गरि कार्यान्वयन गरि अघि बढिरहेका छौँ ।

स्वचालित मुल्य प्रणालीको लाभ उपभोक्ताहरुले महसुस गरेका छन ?
हामीले पार्दशि रुपमा अन्तराष्ट्रिय मुल्य सँग मुल्य समायोन गरिरहेका छौँ । २/४ रुपैयाँ बढ्नु/घट्नु स्वभाविक हो यसले बजार/उपभोक्तालाई खासै प्रभाव पारेको छैन । उपभोक्ताहरुले पहिला जस्तै आयल निगमले आफु खुसी बढायो होला, अन्तराष्ट्रिय मुल्य कम नै होला यहाँ बढाएको होला भन्ने शंका गर्ने वा गर्नुपर्ने अवस्था छैन । हामीले एकदम पारर्दशि रुपमा काम गरिरहेका छौँ, जसले गर्दा उपभोक्तालाई मार परेको पनि छैन । अन्तराष्ट्रिय मुल्यमा थोरै धेरै जति परिवर्तन आउछ त्यहि अनुसार हामीले मुल्य परिवर्तन गरेका छौँ । डिजेलको मुल्य अस्ति भर्खरै ६ रुपैयाँले घट्यो । एक दिन पनि तलमाथि नगरी जुन दिन अन्तराष्ट्रिय मुल्यमा परिवर्तन आउँछ त्यहि दिन देखि लागु हुने गरि स्वचलित मुल्य प्रणालीलाई क्रमिक रुपमा अगाडि बढाईरहेका छौँ । यसको मुलभुत उद्देश्य भनेको नै सहज रुपमा पेट्रोलियम पदार्थ आयत र आपुर्ति गर्नु हो ।

भारतबाट दैनिक कति परिमाणमा आयात गर्नुहुन्छ ? पेट्रोलियम पदार्थको आपुर्ती बाहेक निगमले थप कामहरु के के गर्दै छ ?
हामीले भारतबाट १८०० ट्याङ्कर मार्फत आयत गर्छौँ र देशभरि विभिन्न ठाउँमा रहेको डिपोमा भण्डारण गरि बजारको माग अनुसार अन्य ट्याङ्कर मार्फत पेट्रोल पम्पमा पुर्याउने गरेका छौँ । यस चालु आर्थिक वर्षमा हामीले कुनै विवाद रहित वातावरण बनाएर कुनै पनि ठाउँमा अभाव हुन नदिई आपुर्ति सहज बनाएका छौँ । यो एउटा विषय भयो सहज आपुर्ति र वितरण को, दोस्रो विषय भनेको चहिँ बजार बढ्दै गए पछि नयाँ कामहरु सुरु गरेका छौँ, जस्तै मोतीहारी देखि अमलेखगञ्ज सम्म पाईपलाईन बाट पनि पेट्रोलियम पदार्थ आयत गरिरहेका छौँ । अमलेखगञ्जमा ठुलो भण्डारगृह बनाएका छौँ । त्यसले पनि सहज बनाएको छ । ट्याङ्करबाट आयत गर्दा जाने, लोड गर्ने, आउने गर्दा कम्तिमा नि ३ दिन समय लाग्थ्यो अझ टाढाको डिपो छ भने त ५/६ दिन सम्म पनि लाग्थ्यो । समय लाग्नुको साथ साथै अन्य थुप्रो समस्याहरु पनि झेल्नु पथ्र्यो । इन्डियाको भु–भाग नि समस्या हुने नेपाल आईसकेपछि पनि बाटो बिग्रिने, बातावरण प्रदुषण हुने, चालकहरुले बिचमा बदमाशी गरिदिने त्यस्ता समस्याहरु पनि देखिने गथ्र्यो यीनै कारणहरुले गर्दा पनि घाटाको मात्र बढि रहेको थियो । अहिले पाईपलाईन बाट ल्याउँदा ६ दिन लगाएर ल्याउनुपर्ने ठाउँमा ६ सेकेण्ड मै तेल आउने व्यवस्था मिलेकोे छ ।

अमलेखगञ्जको भण्डारबाट कति परिमाणमा विक्री वितरण हुन्छ ? पाइपलाइनको व्यवस्था त्यहाँसम्म मात्रै सिमित हुने हो ?
अमलेखगञ्जमा भण्डारण गरि करिब करिब नेपाल भरिको ७० प्रतिशत सप्लाई त्यहाँबाट नै गरिरहेका छौँ । पाईपलाईनबाट आयत गर्दा ढुवानी खर्च कम हुन जान्छ जसले गर्दा उपभोक्तालाई १ लिटरमा २ रुपैयाँ सम्म फाईदा हुन जान्छ । त्यो धेरै महत्वपुर्ण प्रोजेक्ट हो त्यसैले यसलाई प्राथमिकता दिदै पाईपलाइन प्रोजेक्टलाई अमलेखगञ्ज देखि चितवन सम्म ल्याउँदै छौँ । र प्रोजेक्टको अध्ययन कार्य सुरु भईसकेको छ डिपिआर बनिरहेको छ अब फिल्डमा गएर निर्माणको काम सुरु गर्न मात्र बाँकी छ ।

सिलिगुडी झापा पाइपलाइनको पनि ब्यापक चर्चा थियो अहिले के हुदै छ ?
पुर्वमा पनि सिलिगुडि बाट झापा सम्मको पाईपलाईन प्रोजेक्टमा पनि काम हुदैँ छ यी दुई प्रोजेक्ट सम्पन्न भईसकेपछि हामीले ढुवानीको लागि भारतमा ट्याङकर पठाईराख्नु पर्दैन । पाईपलाईनबाट नै नेपाल भरि चाहिने पेट्रोलियम पदार्थ, इन्धन आयत हुन्छ । हामी सँग जम्मा २० ओटा डिपोहरु छन ।

पछिल्लो समय विद्युतिय सवारी साधन ब्यापक भित्रीएका छन् तिनको असर पेट्रोलियम पदार्थको विक्री वितरणमा कस्तो छ ?
सवारी साधनहरुकोे संख्या बढे सँगै पहिलाको तुलनामा पेट्रोलियम पदार्थको खपत अलि बढेको छ । सवारी साधन कै रेसियोमा त हैन तर पेट्रोल डिजेल दुवैमा तिन प्रतिशतले खपत बढाएका छौँ । पहिला १० प्रतिशतको हाराहारीमा बढ्थ्यो अहिले विद्युतिय सवारीहरुको सङ्ख्या बढेकोले पहिला जस्तो बढेको अवस्था भने छैन । पेट्रोल डिजेलबाट चल्ने सवारी साधनहरुको सङ्ख्या इ.बि. ले गर्दा कम भएको छ त्यसैले आयत त्यति धेरै बढेको छैन ।

इन्धन विक्रि वितरण बाहेक निगमका थप योजनाहरु के के छन् ? हाइड्रोजनबाट गाडी चलाउने विषय एक ताका निकै चर्चित थियो कहाँ पुग्यो ?

निश्चय पनि हामीले ब्यापार विभिदिकरण गर्ने, बिटुमिनका कामहरु सुरु गर्ने, ग्रिजको कामहरु सुरुगर्ने त्यसपछि अरु नै इन्धनको श्रोतमा रुपान्तरण हुने सोचेका छौँ । पेट्रोलियम पदार्थलाई २०४५ सम्म शुन्य इनभेषनको बनाउने योजना छ सरकारको, अन्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर भईसकेको छ । त्यसकारण पेट्रोल डिजेल जस्ता इन्धनलाई स्वीच गरि हाईड्रोजन फ्युल तिर रुपान्तरण हुन जरुरी छ । पानी बाट हाईड्रोजन निकाल्ने र हाईड्रजनबाट गाडी चलाउने । यसका लागि हामीले के.यु. सँग अध्ययन गरिरहेका छौँ । के.यु ले एउटा गाडी ल्याईसकेको छ र हाईड्रजन फ्युल पनि बनाईसकेको छ । पेट्रोल डिजेल धेरै मात्रमा आयत गर्नाले हाम्रो धेरै मुद्रा बहिरिन्छ यसको विकल्पमा चहिँ इथानललाई पेट्रोलमा मिसाएर प्रयोग गर्न सकिन्छ । इथान हामीले आफै तयार गर्न सक्छौँ । जस्तै उखुबाट चिनि उत्पादन गरिसकेपछि पुनः प्युरिफिकेशन गर्ने, सिमल तरुललाई प्रशोधन गरेर अथवा मकै, धानहरुबाट पनि इथानल निकाल्न सकिन्छ । इथानल उत्पादनको गरि मिश्रण गर्न तर्फ पनि हामी लागिरहेका छौँ । कार्यविधि बनाएर कति प्रतिशत गर्ने, कुन सेक्टरमा कुन क्वालिटीको गर्ने, त्यसको मुल्य उत्पादन गरि प्रयोगमा ल्याउँदा के कति मुल्य पर्न जान्छ भन्ने कुराको हामी अध्ययन गरिरहेको छौँ । १०० मा ८० प्रतिशत पेट्रोल र २० इथानल मिश्रण गरि प्रयोग गरेर चलाउन सकिन्छ जसले गर्दा पेट्रोलको आयतमा कमि आउनेछ । यसरी नयाँ नयाँ इन्धन तर्फ अघि बढ्दैछौँ ।

हुन त २५, २६ दिन बाँकी छ तैपनि चालु आर्थिक वर्षको कारोबार कस्तो रह्यो , गत वर्षको तुलनामा मुनाफा बढ्छ ?
गत आर्थिक वर्षमा हामीले करिब ९ अर्ब जति मुनाफा आर्जन गरेका थियौं । हामीले वार्षिक त्यसकै हाराहारीमा ९/१० अर्बको मुनाफा कमाउने अनुमान गरेका छौ । विगतको भन्दा बढ्छ भन्नेमा विस्वस्त छौं ।

मध्यपुर्वका देशहरुमा चलिरहेको वारले आयल निगमको वित्तिय प्रणलीलाई असर पार्छ कि पार्दैन , त्यस्तो अवस्था आइहाले निगमले के सोचेको छ ?
अन्राष्ट्रिय मामलाहरु जस्तै इरान इजरायलको युद्ध जस्ता कुराहरुले मुल्यमा फरक पारिरहेको हुन्छ । त्यसलाई चहि ब्याल्यन्स गर्न अलि गाह्रो नै हुन्छ । त्यस्तो अवस्थमा कहिलेकहिँ धेरै मुल्य बढ्न जान्छ त्यसको लागि पनि हामीले एउटा कोष बनाएर ८/१० अर्ब जम्मा गरेर राखेको छौँ । त्यस्ता अवस्थाहरुमा चहि कोषको पैसालाई लगानी गछौँ । जसले गर्दा उपभोक्तालाई मार नपरोस भन्ने हाम्रो ध्यय हो । पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुदाँ पेट्रोल प्रयोग गर्नेलाई मात्र हैन सबैलाई मार पर्छ जस्तै अन्य समान समाग्रीहरुको पनि ढुवानी शुल्क बढ्न जान्छ जसले गर्दा मुल्य बृद्धि हुन्छ । जसले गर्दा देशको आर्थिक अवस्थामा नै असर पर्न जान्छ त्यसैले त्यसको सहजीकरणको लागि हामीले कोष संचालन गरेका हौँ । अहिले सम्म प्रयोेग गर्ने अवस्था त आएको छैन । म आउनु भन्दा अगाडी एक पटक युक्रेन र रुसको युद्धको समयमा केहि फण्डहरु प्रयोग भएको रहेछ नभए कोषको फण्ड प्रयोग गर्नुपर्ने अवस्था आएको छैन । १ लिटरमा ५० पैसाको दरले उपभोक्ता कै पैसा बाट फण्ड जम्मा गर्ने गरेका छौँ । वार्षिक ४० लाख लिटर डिजेल र २० लाख लिटर पेट्रोल भारतबाट आयत गर्ने गरेका छौँ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु