global ime bank Long Banner Ad

गृहपृष्ठ मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।
हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थिए । संसारकै जोखिमपूर्ण मानिने केटुमा विन्टर सिजनमा सफलतापूर्वक आरोहण गर्नु असम्भव झैँ मानिन्थ्यो । त्यो जोखिमलाई चुनौती दिँदै नेपाली आरोहीले बनाएको विश्व कीर्तिमानी सम्भवतः नेपाली आरोहीको इतिहासकै गर्विलो दिन थियो । उनीहरुले आरोहण गरेको खबर विश्वका अधिकांश सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो । किनभने केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा यसअघि कसैले पनि विन्टर सिजनमा आरोहण गर्न सफल भएका थिएनन् । त्यसो त माउन्ट केटुलाई आरोहणको दृष्टिबाट संसारकै जोखिमपूर्ण हिमालका रुपमा चिनिन्छ । सन् १९५२ मा अमेरिकी आरोही जर्ज बेलले केटुबारे भनेका थिए, “इट इज स्याभेज माउन्टेन, द्याट ट्राइज टु किल यु ।” केटु चढ्न जाने आरोहीमध्ये औसतमा २३ देखि २५ प्रतिशत आरोहीको मृत्यु हुने भएकाले पनि केटुलाई चुनौती दिनु भनेको मृत्युसँग पौँठेजोरी खेल्नु हो भनिन्छ । सम्झिँदै भयानक र गर्विलो त्यही टोलीका एक सदस्य हुनुहुन्थ्यो, मिङ्मा डेभिड शेर्पा ।
“विन्टरमा केटु आरोहण हाम्रा लागि ठूलो उपलब्धि थियो, कैयौँ हिमाल कैयौँ पटक आरोहण गरेको अनुभव हुँदा पनि हामीले त्यो क्षणलाई ऐतिहासिक मानेका छौँ”, मिङ्माले रासससँगको कुराकानीमा भने, “त्यसअघि विन्टरमा गरिएका ४८ वटा प्रयास असफल भएका थिए, हामीले पहिलो प्रयासमै पूरा गर्‍यौँ ।”
सफल आरोहण हुनुका कारण टिमवर्क हो भन्छन, मिङ्मा । उनका अनुसार तत्कालीन समयमा सबै नेपालीहरु व्यक्तिगत कीर्तिमानीका लागि केटु आरोहणको योजना बनाएका थिए । सबैलाई कीर्तिमान आफ्नो नाममा होस् भन्ने चाहना थियो । तर त्यसअघिका असफल प्रयासबारे अध्ययन गर्दा टिमवर्क नभएका कारणले हो भन्ने निष्कर्ष निस्कियो । त्यसैले व्यक्तिगत कीर्तिमानभन्दा पनि सामूहिक रुपमा प्रयास गरौँ भन्ने सहमति जुट्यो ।
“हामीहरुबीच कैयौँ पटक छलफल भयो, त्यसमा सामूहिक प्रयासमा मात्रै आरोहण गर्नेमा सहमति जुट्यो, चुचुरोभन्दा १० मिटर तलबाट हातेमालो गर्दै नेपालको राष्ट्रिय गान गाउँदै एक साथ शिखर चुम्ने निर्णय भयो”, मिङ्माले भने, “राष्ट्रिय भावनाले हामीलाई एकजुट बनायो ।”
त्यो घटना केटुको इतिहासमा नयाँ थियो भने मिङ्माका लागि भने तेस्रो विश्व कीर्तिमान । हाल उहाँका नाममा पाँच वटा विश्व कीर्तिमान छन् । ती सबै केटुसँगै जोडिएका छन् । उनै मिङ्मा यतिबेला छैटौँ विश्व रेकर्डका लागि केटु आरोहणको तयारीमा छन।
“म आगामी जुलाईमा सबैभन्दा बढी केटु आरोहण गर्ने आफ्नै रेकर्ड तोड्ने तयारीमा छु”, केही दिनअघि आरोहणसम्बन्धी कार्यक्रममा भाग लिन लन्डन जानुअघिको भेटमा उनले सुनाए । उनका अनुसार पहिलो विश्व रेकर्ड ६१ दिनमै सगरमाथा र केटु आरोहणपछि बनेको थियो । दोस्रो रेकर्ड सन् २०१९ मा केटु आरोहणपछि सबैभन्दा सानो उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने नाममा बनेको थियो । तेस्रो रेकर्ड १० जनाको समूहमा विन्टरमा केटु आरोहण गरेर भएको थियो । भने चौथो विश्व रेकर्ड सबैभन्दा बढी केटु आरोहण गरेर बनेको थियो ।
सन् २०२३ मा उनले सबैभन्दा छिटो अर्थात् आधार शिविरबाट चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरेर पाँचौं विश्व रेकर्ड कायम गरे । अब उनि छैटौँ विश्व रेकर्डका लागि सातौँ पटक केटु आरोहणको तयारीमा छन ।
मिङ्मा केटु आरोहण गर्न गएको पहिलो पटक सन् २०१३ मा हो । पहिलो पटकको प्रयास असफल भए पनि दोस्रो पटक भने सफल भयो । केटुमा उनका हालसम्म चार वटा प्रयास असफल भएका छन् । “केटु हिमाल आरोहण आरोहण आफैँमा गाह्रो छ, त्यसैले त सगरमाथामा एकै व्यक्तिले ३१ पटक आरोहण गर्दा केटुमा छपटक चढेको रेकर्ड छ”, उनले भने ।
भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पारे । आधार शिविरमा आरोहीहरु देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।
काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिए।  त्यसपछि उनि ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे । खत्री तीन पटक सगरमाथा आरोहण गरिसक्नुभएको थियो । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उनले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”
त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै थिए । तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उनि आरोहणमा गरेका थिए । सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिनु सुरु गरे। तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो ।
सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीहरुको मृत्यु भयो । त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि परे । गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो । त्यतिखेर उनि अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए ।
त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो । भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए । उनि चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय थिए । काठमाडौँ फर्किएपछि उनि राहत लिएर सिन्धुपालचोक पुगे । सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो ।
सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकुल भयो । क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिम पहिरोमा बग्यो । भाग्यले यहाँ पनि मिङ्मा र उनको नेतृत्वको ४० जनाको टीम बच्यो ।
हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यही बिताउँछु भन्ने अठोट लिए । “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उनले भने ।
मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पारे । दुई महिनामा उनको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्‍यो । सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु