global ime bank Long Banner Ad

गृहपृष्ठ इरानद्वारा आईएईएको प्रतिवेदन खारेज, राजनीतिक पूर्वाग्रहको आरोप

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज, राजनीतिक पूर्वाग्रहको आरोप

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज, राजनीतिक पूर्वाग्रहको आरोप

इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो प्रतिवेदनलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ र ‘सन्तुलनविहीन’ भएको भन्दै कडा आलोचना गरेको छ ।

शनिबार परराष्ट्र मन्त्रालय र इरानको आणविक ऊर्जा संस्थाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“उक्त प्रतिवेदनले इरानले देखाएको सहयोगको स्तरलाई सत्यतासँग मेल खाने गरी प्रस्तुत गरेको छैन । बरु यसले अनावश्यक भ्रम फैलाउने काम मात्र गरेको छ ।”

आईएईएको सो प्रतिवेदनमा इरानले केही अघोषित स्थानहरूमा भेटिएको आणविक सामग्रीको बारेमा स्पष्ट विवरण नदिएको र सहकार्य असन्तोषजनक रहेको जनाइएको छ । यसमा अघिल्ला वर्षहरूमा पत्ता लागेका युरेनियमका अंशहरूबारे अझै स्पष्ट जानकारी नआएको समेत उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अमेरिका र इरानबीच अप्रिलदेखि ओमानको मध्यस्थतामा हुँदै आएको अप्रत्यक्ष वार्ताका बिच सार्वजनिक भएको हो । हालसम्म मस्काट र रोममा गरी पाँच चरणका वार्ता सम्पन्न भइसकेका छन्, जसमा इरानको आणविक कार्यक्रम र त्यसमाथि लागेका प्रतिबन्धबारे छलफल भइरहेको छ ।

इरानले आफूले परमाणु हतियार नफैलाउने सन्धि एनपिटी र अन्तर्राष्ट्रिय निगरानी सम्झौताअनुसार सधैं पारदर्शी रूपमा सहकार्य गर्दै आएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ,“दुर्भाग्यवश, यति धेरै सहयोगका बाबजुद पनि आईएईएको प्रतिवेदनले हाम्रो प्रयासलाई न्याय गर्न सकेन ।”

इरानले अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमाथि सन् २०१५ मा गरिएको आणविक सम्झौता (जेसीपीओए) र संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय २२३१ को उल्लङ्घन गर्दै बारम्बार ‘अवैधानिक प्रतिबन्ध र राजनीतिक दबाब’ सिर्जना गरेको आरोप लगाएको छ ।

तेहरानले चेतावनी दिँदै भन्यो,“यदि आगामी असार २ गते हुने आईएईए बोर्ड अफ गभर्नर्सको बैठकमा यो प्रतिवेदनलाई आधार मानी हाम्रो विरुद्ध कुनै कदम चालियो भने, इरानले पनि आफ्ना अधिकार र हित जोगाउन आवश्यक प्रतिकार गर्नेछ ।”

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु