गृहपृष्ठ राजदूत नेपालद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राजदूत नेपालद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

स्पेनका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैर आवासीय नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति मायरीयम स्पिटेरी देबोनोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको छ ।

बिहीबार माल्टाको राजधानी भ्यालेत्तास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच राजदूत नेपालले राष्ट्रपति देबोनोसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको हो । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति देबोनोसँग शिष्टाचार भेट गरेको थियो । भेटमा नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै नेपाल सरकार र नेपाली जनताको तर्फबाट माल्टा सरकार तथा जनताप्रति सद्भाव प्रकट गरेको थियोे । उनले नेपाल र माल्टा दुवै मुलुक पर्यटनका लागि सम्भावनायुक्त भएकाले जलवायु परिवर्तनका कारण देखा परेका असर र चुनौतीजस्ता साझा मुद्दामा आपसी सहयोग र सहकार्यको आवश्यकतामा जोड दिएको थियोे ।

शैक्षिक, पर्यटन र व्यापारलगायतका क्षेत्रमा सहकार्यका साथै नेपालमा माल्टाको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत नेपालले राससलाई जानकारी दिए ।

सो अवसरमा राजदूत नेपाललाई बधाई दिँदै राष्ट्रपति देबोनोले सफल कार्यकालको शुभकामना समेत दिएको थियो । माल्टामा बसोबास गर्दै आएका नेपालीको मेहनत, परिश्रम र योगदानको प्रशंसा गर्दै माल्टावासी नेपालीको हितका लागि माल्टामा कन्सुलर कार्यालय स्थापना गर्न आग्रह गरेको राजदूत नेपालले बताए ।

राष्ट्रपति देबोनोले दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई प्रोत्साहन गर्न सकिने उल्लेख गर्दै सन् २०२६ मा हुने माल्टा बिएन्नाले कार्यक्रममा सहभागिताको लागि नेपाललाई औपचारिक निमन्त्रणा समेत दिएको उनले बताए ।

उक्त समारोहमा राष्ट्रपतिको कार्यालयका अधिकारीहरू, विदेश मन्त्रालयका अधिकारीहरूका साथै नेपाली दूतावासका उच्चअधिकारीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पछिल्लो समय माल्टा नेपाली श्रमिकको लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । माल्टामा नेपालीको सङ्ख्या यकिन नभए पनि १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु