global ime bank Long Banner Ad

गृहपृष्ठ साउनयता प्राकृतिक कारणले २८ गैंँडा मरे

साउनयता प्राकृतिक कारणले २८ गैंँडा मरे

साउनयता प्राकृतिक कारणले २८ गैंँडा मरे

गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंँडा मरेका छन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा र राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैंँडा मार्न पाएका छैनन् । गत साउन, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका थिए । कात्तिकमा चार, मङ्सिरमा दुई, पुसमा एक, माघमा तीन, फागुन र चैतमा चाररचार र वैशाखमा तीन वटा गैँडा मरेका हुन । यही जेठमा राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो ।

सूचना अधिकारी थापा मगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैंँडा मरेका हुन् । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले थिए भने दुई वटा चोरी सिकारीले र एउटाको कारण खुल्न सकेको थिएन ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतीले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विसं २०८० कात्तिक ३० गतेयता चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् । विसं २०८० कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करहरुले दुई वटा गैँडा मारेका थिए । त्यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरी निकुञ्जले सार्वजनिक गरेको थियो ।

सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यसवर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेपनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन भएको थियो ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु