समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक छ:पूर्वमन्त्री साह
वि.सं.२०८२ जेठ ९ शुक्रवार १५:३६
shares

सुडी जातिको हकअधिकार र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र) का सचिव गणेश साहले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज सबल तथा समृद्ध हुन नसक्ने उल्लेख गर्दै समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको बताए। उनले सामाजिक–सांस्कृतिक, राजनीतिक, नागरिक, आर्थिक, शैक्षिक विकास प्रक्रियामा यस समुदायको सहभागितालाई सुनिश्चित गरी उनीहरुलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर समाजको उन्नयनका लागि सुडी समाज काठमाडौँ लाग्नुपर्ने धारणा व्यक्त गरे ।
सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले ‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर समाजले उत्तरदायी र सबल समाज, सदस्यको हकहित र सुरक्षा, सङ्गठनात्मक सुदृढीकरण तथा संस्थागत विकासका लागि लागिपरेको जानकारी दिए ।
समाजका महासचिव डा प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठलगायतले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सुडी समुदायको अधिकार संरक्षणका लागि समाज क्रियाशील रहेको बताए ।
सो अवसरमा नेकपा(माओवदी केन्द्र), विज्ञान प्रविधि विभागका प्रमुखसमेत रहेका पूर्वमन्त्री साहलाई सम्मान गरिएको थियो ।
























