global ime bank Long Banner Ad

गृहपृष्ठ चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट, नाफा घाटा कसको कति ?

चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट, नाफा घाटा कसको कति ?

चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट, नाफा घाटा कसको कति ?

चैत महिनामा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चैत महिनामा मात्रै १३ बैंकको नाफा घटेको छ । फागुन महिनासम्म वाणिज्य बैंकहरूको खुद नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चैतमा आइपुग्दा यस्तो नाफा ५.०९ प्रतिशतले घटेर ४१ अर्ब २८ करोडमा झरेको हो । कर्जा प्रवाह हुन नसक्नु र ब्याजदर घटेर तल्लो सिमामा आइपुग्नुले बैंकको नाफामा नकारात्मक असर गरिरहेको थियो ।

आम्दानी संकुचित बनिरहेकै बेला वाणिज्य बैंकहरूको खराबकर्जा बढ्दा त्यसको असर बैंकको नाफामा देखिएको हो । पछिल्लो एक महिनामै हिमालयन बैंकको नाफा ७० प्रतिशतले घटेको छ । फागुन मसान्तसम्म हिमालयन बैंकको नाफा १ अर्ब ६६ करोड रुपैयाँ थियो भने चैतमा भने घटेर नाफा ५० करोडमा आइपुगेको हो । हिमालयन बैंककोे खराबकर्जा वाणिज्य बैंकहरू मध्येकै धेरै छ । चैत मसान्तसम्म बैंकको खराबकर्जा ७.६८ प्रतिशतमा पुगेको छ ।

त्यस्तै, चैतमा एनआइसी एसिया बैंकको नाफा पनि ६६ करोडले घटेको छ । फागुन महिनमा बैंकले ८१ करोड नाफा गरेको थियो भने चैतमा उक्त नाफा घटेर १५ करोडमा झरेको हो ।

फागुन महिनाको तुलनामा चैत मसान्तसम्म १३ वाणिज्य बैंकको नाफा घट्दा ५ वाणिज्य बैंकले नाफा बढाएका हुन् । यसैगरी, चैत मसान्तसम्म नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र प्राइम बैंकको पनि नाफा घटेको छ । नेपाल बैंकको नाफा २ अर्ब ७८ करोड, राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड रहेको छ ।

त्यसैगरी, कुमारी बैंकको नाफा २८ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब ६५ करोड, सिद्धार्थ बैंकको नाफा १ अर्ब १६ करोड, सिटिजन बैंकको ९६ करोड, प्राइम बैंकको २ अर्ब २२ करोड, एनएमबी बैंकको २ अर्ब ३७ करोड र प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड रहेको छ।चैत महिनामा ५ वटा मात्रै बैंकको भने नाफा बढेको छ । नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकको नाफामा भने सुधार देखिएको छ ।

चैत महिनामा नबिल बैंकको नाफा ५ अर्ब ५ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ अर्ब ५४ करोड, एभरेस्ट बैंकको ३ अर्ब ४५ करोड, कृषि विकास बैंकको १ अर्ब ८४ करोड र ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । नाफा घटबढ नहुनेमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक रहेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब १७ करोड र सानिमा बैंकको नाफा १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु