गृहपृष्ठ रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी
रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी
वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ ।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु-याएको छ । सोमबार राती सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पु-याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् । हिजो राति सडकमा क्षति भएपछि आफू क्षति भएको स्थानमा जाँदै गरेको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।
स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने ।
असोज महिनामा आएको बाढीले बिपी राजमार्गको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको थियो । सो क्षेत्रमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गरिएकोमा हिजो आएको बाढीले सडकमा क्षति पु-याएको हो ।
प्रकाशित समय : १०:३८ बजे


















