गृहपृष्ठ लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसँग आग्रह गरेका छन ।
कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन ।
उनले आगामी १० बर्षलाई लगानी दशकको रुपमा घोषणा गर्न, लगानीसंग सम्बन्धित कानुनहरु वन, वातावरण र भूमि समेत एकिकृत गरि एकिकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राखे ।
यस्तै उनले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक्ता रहेकोमा जोड दिए । “ लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यक्ता हो । राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरु छन् । सबै दलहरुले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानूनको अपव्याख्या गर्ने र एक अर्को कानून बाँझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ । ” उनले भने ।
अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्ने विचार व्यक्त गरेका थिए ।
प्रकाशित समय : २१:२३ बजे