लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
वि.सं.२०८२ वैशाख २६ शुक्रवार २१:२३
shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसँग आग्रह गरेका छन ।
कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन ।
उनले आगामी १० बर्षलाई लगानी दशकको रुपमा घोषणा गर्न, लगानीसंग सम्बन्धित कानुनहरु वन, वातावरण र भूमि समेत एकिकृत गरि एकिकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राखे ।
यस्तै उनले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक्ता रहेकोमा जोड दिए । “ लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यक्ता हो । राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरु छन् । सबै दलहरुले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानूनको अपव्याख्या गर्ने र एक अर्को कानून बाँझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ । ” उनले भने ।
अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्ने विचार व्यक्त गरेका थिए ।
























