गृहपृष्ठ ‘फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्छ’
‘फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्छ’

नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले फजुल खर्च वा चालु खर्च घटाएर भए पनि पुँजीगत बजेट बढाउनुपर्नेमा जोड दिएकी छन ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले शिक्षा, निजामती र प्रहरीसम्बन्धी अतिआवश्यक विधेयकहरू जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिइन । उनले भनिन, “वास्तविक किसानको हातमा अनुदान पुगोस्, उत्पादन र उत्पादनकत्व बढाउने र देशलाई आत्मनिर्भर बनाउने खालको बजेट बनाउन सरकारलाई मेरो सुझाव छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद निर्मला कोइरालाले देश समृद्ध बनाउँदै नेपाली जनतालाई सुखी बनाउन सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सरस्वती सुब्बाले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासको समस्यालाई सरकारले व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।
नेकपा (एमाले)का सांसद विजुला रायमाझीले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रको आर्थिक अवस्था, स्रोतसाधन परिचालनको अवस्था र पुँजीअनुसार यर्थाथपरक रहेको टिप्पणी गरिन । एमालेका सांसद हर्कमाया विश्वकर्माले सरकारले सजिलै लागू गर्न सकिने गरी नीति तथा कार्यक्रम ल्याएको बताइन । प्रतिनिधिसभाको आगामी बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।
प्रकाशित समय : २०:०६ बजे