गृहपृष्ठ नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी
नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् ।
नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्। कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रष्ट पारेका छन् । पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउनेछ ।
नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना बनाएको बताइएको छ ।
प्रकाशित समय : २०:१२ बजे