गृहपृष्ठ नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको इमानदार सम्बन्ध हो : मन्त्री यादव
नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको इमानदार सम्बन्ध हो : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको इमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताएका छन् । आज मोरङको रङ्गेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले तीनै तहका सरकारसँग समन्वय गरेर आफ्नो दायित्वलाई जिम्मेवारपूर्वक ढङ्गले निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, “हामी नागरिकको सेवामा सर्मपित छौँ । हाम्रो नेतृत्व केवल सत्ताको कुर्सी मात्र होईन, नागरिकसँगको ईमानदार सम्बन्ध पनि हो । रङ्गेलीको माटोले विकासको सशक्त चाहना राखेको छ । यो आयोजनाको शिलान्यास त्यसै चाहना र सम्भावनाको मूर्त रूप हो ।” यसैगरी उनले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको सामाजिक न्यायको मार्गदर्शनमा आज रङ्गेली दोस्रो खानेपानी आयोजना मार्फत एउटा नयाँ युगको सुरुवातको ढोका खोलिएको बताए ।
खानेपानीको समस्याका कारण रङ्गेलीका हजारौँ नागरिकहरूले दैनिक पानीको अभाव झेल्नु परिरहेको तथा उनीहरुका स्वास्थ्य, शिक्षा, र आर्थिक गतिविधिहरूमा समेत बाधा पुर्याएकाले रङ्गेली दोस्रो खानेपानी आयोजना सम्पन्न भएपश्चात यहाँका नागरिकका खानेपानी लगायतका अन्य समस्या सबै समाधान हुने मन्त्री यादवले बिश्वास व्यक्त गरे । उक्त महत्वपूर्ण आयोजना सम्पन्न भएपश्चात रङ्गेली नगरपालिकाको वडा नं. २ -लक्ष्मीपुर, दौलतपुर) र वडा नं. ९ -दोभाना बजार र फर्साडाँगी) का कुल तीन हजार १६९ घरधुरीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय : १५:०६ बजे



















