गृहपृष्ठ आउने बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड, कसले के भने ?
आउने बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड, कसले के भने ?
सांसद शक्ति बहादुर बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा उनले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि विनियोजित हुने बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । त्यसैगरी, सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्था गरी जनतालाई ऋणमुक्त गर्ने व्यवस्थाका लागि अपिल गरे ।
त्यस्तै, सांसद सुनिता बरालले सरकारी कार्यालयमा भएका प्रयोगविहीन सवारीसाधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिइन् । “पुराना सवारीसाधनले वातावरणमा समेत असर गरेको छ । विद्युतीय सवारीसाधनमा समेत परिवर्तन गर्न सकिन्छ”, उनले भनिन् । यसैगरी, सांसद सुशीला श्रेष्ठले नेपालको पूर्वी पहाड पर्यटकीय विकासका लागि सुरक्षित बन्दोबस्त गर्न आग्रह गरिन् भने सुहाङ नेम्वाङले राकेँ–रबी–भेडेटार सडकखण्डको कालेपत्र सुस्तगतिमा अगाडि बढेको भन्दै समयमा नै सम्पन्न गर्न र फिदिम रङ्गशालालाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
यसैगरी, सांसद सूर्यकुमारी श्रेष्ठले पेट्रोल खानी उत्खनन् दैलेखमा भइरहेको भन्दै दुई लेनको सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । प्रतिनिधिसभाको बैठकमा सांसद हृदयराम थानी कर्णाली प्रदेश विकासमा पछि परेको भन्दै कर्णालीलाई उपेक्षा नगर्न आग्रह गरे । “बजेट जति आफ्नै निर्वाचन क्षेत्रमा खन्याउँदा कर्णालीलाई अन्याय भएको छ,” उनले भने ।
प्रकाशित समय : १४:२१ बजे


















