global ime bank Long Banner Ad

गृहपृष्ठ उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा

हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दूरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ –२ कोवाङसम्म केन्द्रीय प्रशारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पुर्‍याएको छ । यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको योजना अघि बढाएको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापपदण्डअनुसार एक सब स्टेशनबाट अर्को विद्युत् सब स्टेशनसम्म विद्युत् प्रशारण गर्नका लागि ५० किलोमिटर भन्दामाथि जान हुँदैन । तर मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिब एक सय ५० किलोमिटर दरीमा सिधैँ ११ केभीको विद्युत् प्रशारणलाइन सञ्चालनमा छ। यसैका कारण मुस्ताङ जिल्लामा पटक-पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रशारणलाइन सिधैँ ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन् ।

मुस्ताङ जिल्लाको विद्युत् प्रशारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रशारणलाइनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई सेसनमा सब स्टेशन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग  २७ करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए ।

प्राधिकरणले हालको ११ केभी प्रशारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रशारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ । मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ। ।

३३ केभी ट्रान्समिसन प्रशारणलाइन अबको छ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रशारणलाइनको तार तान्ने काम तीव्रगतिमा काम भइरहेको जनाइएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दुरीमा ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेकेबीले जनाएको छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु