काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पुस्तक समीक्षास् ‘भगवान् श्रीपशुपतिनाथ’ : पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

1.94K
shares

नेपालमा राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको माहात्म्य र महत्वका बारेमा धेरैले जान्न इच्छा राख्छन् । पशुपतिनाथका विषयमा केन्द्रित भएर लेखिएका पुस्तक त पाइन्छन् तर धेरै विषय समेटिएको पुस्तक पाउन गाह्रो भइरहेका बेला पाठकका लागि आवश्यक सामग्री समेटिएको पुस्तक सार्वजनिक भएको छ ।

‘भगवान् श्रीपशुपतिनाथ’ नाम दिइएको यो पुस्तकले पाठकका धेरै जिज्ञासा शान्त गर्छन् । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा पाँच खण्डमा पशुपतिनाथको वर्णन गरिएको छ । पहिलो खण्डमा पशुपतिनाथको स्तुति प्रस्तुत गरिएको छ । यो खण्डमा रुद्रसूक्त, पशुपतिस्तुति, दारिद््यदहनशिवस्तोत्र, शिवस्तुति, पशुनां पतये नमः, पञ्चवक्त्रस्तुति, शिवषडक्षरस्तोत्र, वेदसारशिवस्तोत्र, श्रीशिवापराधक्षमापनस्तोत्र, महेश्वरस्तुति, शङ्करस्तव, शिवस्तोत्र, भैरवस्तोत्र, श्रीरुद्राष्टकम्, पशुपतये नमः, शिवस्तवः, शिवशरणगति, शिवमहिम्नस्तव, किरातेश्वरस्तुति, पञ्चवक्त्रस्तुति, शिवस्तुति, अर्धगौरीश्वरस्तुति, छत्रचण्डेश्वरस्तुति, रुद्रस्तुति, पशुपतिस्तुति, शिवस्तुति, ॐ नमः शिवाय, प्रभु पशुपति, परमपशुपतिं नौमि नित्यं, ॐ नमः पशुपतये, महेशाष्टकम्, श्रीशङ्करप्रमाणिकाष्टकम्, ङ्करं तं नमामि, जय शम्भो १ शिव १ चन्द्रशेखर १, वन्दे हे पशुका पते १, शिव दिऊन् कल्याणको चुम्बन र पशुपते गरी ३७ वटा स्तोत्र यो खण्डमा समावेश गरिएको छ । यी स्तोत्रको पाठ मात्रले पनि व्यक्तिलाई आनन्दानुभूति हुन्छ ।

दोस्रो खण्डमा तत्व दर्शनसँग सम्बन्धित २५ लेख समावेश गरिएको छ । यो खण्डमा स्वामी आत्मानन्द गिरी, उमेशप्रसाद घिमिरे, कविराज न्यौपाने, प्रा डा. कार्तिकेय झा, प्रा डा कुलप्रसाद कोइराला, गिरिधारी भट्ट, प्रा गोपालनिधि तिवारी, पण्डित गोविन्द भट्टराई, प्रा चूडानाथ भट्टराय, डा चेतमणि न्यौपाने, प्रा चेतोनाथ गौतम, डा. जगमान गुरुङ, दधिराज सुवेदी, प्रा डा दीर्घराज घिमिरे, प्रा डा दुगाप्रसाद दवाडी, प्रा डा देवमणि भट्टराई, रथी धनशम्शेर जबरा, प्रा भवानीप्रसाद खतिवडा, प्रा बुद्धिसागर पराजुली, स्वामी डा. रामानन्द गिरी, प्रा डा. विष्णुप्रसाद शर्मा देवाकोटा, पूर्वसचिव शरत्कुमार भट्टराई, शिवगोपाल रिसाल गरी यो खण्डमा २१ जना श्रष्टाले पशुपतिनाथको महत्व र महिमाका बारेमा कलम चलाएको छ ।

पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाईँ बताए ।

प्रतिष्ठानको यो पाँचौँ प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास–संस्कृति र पाँचौँ खण्डमा अनुसूची समावेश गरिएको छ । स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएको छ । तत्व दर्शन खण्डमा विभिन्न विद्वान्का २५ वटा लेख समावेश गरिएको छ । उपासना खण्डमा १८ वटा लेख, इतिहास–संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ ।

पशुपतिक्षेत्रका स्थापित देवीदेवताहरू, गुह्येश्वरीपीठ, पशुपतिक्षेत्रका जात्रापर्व, रामायणमा पशुपतिनाथ, पशुपतिनाथ र पाशुपतक्षेत्र, भगवान् पशुपतिनाथको मन्दिर र परिसरक्षेत्रको सङ्क्षिप्त परिभ्रमण, नेपालमा पाशुपत धर्मको विकास, सर्वधर्मसमभावका प्रतीक भगवान् पशुपतिनाथ, पशुपतिक्षेत्रको धार्मिक पर्यटन, पशुपतिनाथको पुजारीपरम्परा, प्राचीन नेपालमा पाशुमत, त्वं शङ्करोऽसि भुवनत्रयशङ्करत्वात्, पशुपतिक्षेत्रका केही प्राचीन शिवलिङ्गहरू, वेदमा रुद्र र पशुपति, पुराणहरुमा पशुपति–चिन्तन, नेपाली स्थापत्यविधामा श्रीपशुपतिमन्दिर, विश्वसम्पदाको रुपमा पशुपति मन्दिर, पशुपति परिसरका देवीदेवता, वाग्मती र पशुपति, शिवमहापुराणमा पशुपतिनाथ, भगवान् पशुपतिथान तथा पशुपति मुद्राजस्ता विषयमा लेख समावेश गरिएको छ ।

पाँचौँ खण्डमा पाशुपतत्रसूत्रम्, श्रीमच्छङ्काचार्यविरचितम् पशुपतिपूजा विधाननम्, पाशुपतदीक्षा, पशुपतिक्षेत्रमा अग्निहोत्र परम्परा, पशुपतिक्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा, विभिन्न कार्यक्रम एवं गतिविधिको तस्बिर सङ्कलन गर्न पाइने जनाइएको छ ।

पुस्तकमा एक हजार १६४ पृष्ठ छ । पुस्तकको सम्पादनमण्डलमा प्रा ई देवीप्रसाद चापागाईँ, डा. नयँनाथ पौडेल, प्रा डा. कुलप्रसाद कोइराला, प्रा डा. दिवाकर आचार्य, डा. गोविन्द टण्डन, डा. माधवपसाद लामिछाने, रवीन्द्रप्रसाद गिरी, मदनकुमार डङ्गोल, पण्डित गोविन्द भट्टराई, डा. विनुबाबा अर्याल, ज्योतिष पण्डित युवराज तिमल्सिना, श्रीधर गौतम, खगेन्द्रप्रसाद गिरी र राजेन्द्रराज कठायत रहेको छ ।

प्रत्येक स्तुतिको नेपालीमा भावानुवाद गरी सामान्य मानिसले पनि यो पुस्तक पढ्न सक्ने बनाइएको छ । पुस्तकले पशुपतिनाथका बारेमा धेरै कुरा स्पष्ट पारेको छ । धेरै गहन विषयवस्तु भएकाले सामान्य पढाइबाट पुस्तकले उठाउन खोजेकाले एकैपटकको पढाइबाट सबै कुरा बुझ्न कठिन हुनसक्छ ।

पाशुपतदर्शन विषयक लेखमा डा. जगमान सुरुङ पशुपति शब्दबाटै पाशुपत दर्शन बनेको जनाउँदै पाशुपत दर्शन, कार्य, कारण योग, विधि र दुःखान्तका विवेचनामा पुस्तक आधारित भएको उनले बताए । वेद, पुराणलगायत ग्रन्थमा पशुपतिनाथका विषयमा उल्लेख गरिएका विषयलाई पनि लेखकहरूले यो पुस्तकमा प्रस्तुत गरेको छ ।

पशुपतिनाथ, पाशुपतदर्शन र पशुपति तत्वका बारेमा विभिन्न ग्रन्थले उल्लेख गरेका विषय खोजी गरी पुस्तकमा समावेश गरिएकामा त्यसलाई अझ सरल भाषामा राख्न सकिएको भए अझै प्रभावकारी हुने थियो । भाषा शैलीका हिसाबले पनि एकपटक हेरेर सहज रूपमा प्रस्तुत गरिएको भए यो ग्रन्थ अझै प्रभावकारी हुने थियो । अझै धेरै मानिसले यसको अध्ययनबाट लाभ लिन सक्ने थिए । अहिलेलाई त्यसो नभए पनि यो ग्रन्थ एउटा ऐतिहासिक एवं सङ्ग्रहणीय कृतिका रूपमा नेपाली पाठकमाझ आएको छ ।