गृहपृष्ठ बैंकले कमाए ४१ अर्ब ३२ करोड खुदनाफा, सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक
बैंकले कमाए ४१ अर्ब ३२ करोड खुदनाफा, सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक
पछिल्लो एक वर्षमा बैंकहरुको खुदनाफा २.१५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म ४० अर्ब ४६ करोड रुपैयाँ खुदनाफा कमाएका वाणिज्य बैंकहरुले चालु वर्षको सोही अवधि यस्तो नाफा ४१ अर्ब ३२ करोड रुपैयाँ पु-याउन सफल भएका छन् । पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खुदनाफा ८६ करोड ९७ लाख रुपैयाँले थप भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा सर्वाधिक नाफा नबिल बैंकले कमाएको छभने, एक वर्षको अवधिमा खुदनाफामा सर्वाधिक ग्रोथ नेपाल बैंकले गरेको छ । गत वर्षको चैत मसान्तमा नबिल बैंकले ४ अर्ब ६६ करोड खुद नाफा कमाएकोमा एक वर्षको अवधिमा ८.२१ प्रतिशत नाफा वृद्धि गरी ५ अर्ब ५ करोड पैयाँ कायम गरेको छ ।
उक्त अवधिमा नेपाल बैंकको खुदनाफा २ सय गुणाले वृद्धि भएको छ। गत वर्षको चैत मसान्तमा १३ करोड रुपैयाँ रहेको खुदनाफा चालु वर्षको सोही अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ कायम गरेको छ । यस्तै, समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटाको खुदनाफा २.२४ प्रतिशतदेखि २ सय गुणासम्मले वृद्धि हुँदा ९ वटाको १ प्रतिशतदेखि ९१.८१ प्रतिशतसम्मले खुद नाफा घटेको छ। एक वर्षको अवधिमा सबैभन्दा बढी खुदनाफा नेपाल बैंकले थप गर्दा एनआइसी एसिया बैंकको सबैभन्दा बढीले नाफामा गिरावट आएको छ ।
नेपाल बैंक, नबिल बैंक र एनआइसी एसिया बैंकबाहेक समीक्षा अवधिमा एभरेष्ट बैंकले ३९.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले प्रतिशतले वृद्धि गरी ३८.६१ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ३७.१२ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड र माछापुच्छ्रेले २८.८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ ।
उक्त अवधिमा सानिमा बैंकले २१.३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६९ करोड, नेपाल एसबिआइ बैंकले ११.९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड, एनएमबि बैंकले ५.८८ प्रतिशतले वृद्धि गरी २ अर्ब ३७ करोड, प्रभुले ३.५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकले २.२४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
प्रकाशित समय : १२:१५ बजे



















