गृहपृष्ठ सहकारी रकम अपचलनमा बिस पक्राउ, छयालिस फरार
सहकारी रकम अपचलनमा बिस पक्राउ, छयालिस फरार
जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीको १४ करोड र युनिटी सहकारीको तीन करोड ५० लाखभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ ।
सूचना अधिकारी घलेका अनुसार यहाँ सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी चार सहकारीको अनुसन्धान जारी छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताए। “सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजीकार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ”, उनले भने ।
प्रकाशित समय : २०:३३ बजे


















