global ime bank Long Banner Ad

गृहपृष्ठ धुलिखेलमा आजदेखि नवदुर्गा जात्रा मनाइँदै

धुलिखेलमा आजदेखि नवदुर्गा जात्रा मनाइँदै

धुलिखेलमा आजदेखि नवदुर्गा जात्रा मनाइँदै

काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पर्यटकीय नगर धुलिखेलमा ‘जीवित देवता’ को रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) आजदेखि मनाइँदै छ ।

परापूर्वकालदेखि मनाइँदै आइएको उक्त जात्राको किंबदन्ती अनुसार धुलिखेलको मुख्य बजारमामा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ । प्रत्येक वर्ष युवा–विद्यार्थी स्वास्थ्य लाभ र ज्ञान लाभको लागि नवदुर्गा देवगणको आशीर्वाद लिन र सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् ।

नगरले नवदुर्गा जात्राको अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदासमेत गरेको छ । धुलिखेलका स्थानीय नवदुर्गा देवगणबाट मुख्य प्रसाद गोका–पञ्चरङ्गी धागो, मोहनी–कालो टीका, पासुका–तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमताअनुसार दक्षिणा चढाएर देवगणको सेवा गर्ने परम्परा रहेको छ । धुलिखेलका स्थानीय नयाँ घर निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय सुरू गर्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहिआएको छ ।

यस्तै जात्रामा भक्तजनको भौतिक र आर्थिक सहयोगका कारण देवगणको ऋण चुक्ता हुने गरेका भनाइ रहेको पाइन्छ । तत्कालीन ‘श्री ५ को सरकार’ द्वारा धुलिखेल गाविसलाई धुलिखेल नगरपालिका घोषणा गरेको वर्षमा धुलिखेल नगरको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु ९ठूलो भोजन ग्रहण० गराइएको थियो । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेलका नागरिक नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुज्दै आएका छन् । धुलिखेलको मुख्य पर्व र जात्राको रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइने ब्याञ्जूले बताए ।

उक्त जात्रामा नवदुर्गा देवगणलाई नगर कार्यालयको तर्फबाट हरेक वर्ष पञ्चबलि, पोसाक, भाले कुखुरा, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ ९सुङ्गुर० बलि दिने गरिन्छ । जात्रामा मानव समाजमा हुने पारिवारिक महत्त्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङको महत्त्व आदि विषयवस्तु प्रस्तुत गरिन्छ ।

बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाङ्गो खुट्टामा नाच तथा नाटकीय शैलीमा प्रदर्शन हुनेगर्छ । ऐतिहासिक यस जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न, जात्रा सभ्य र सुरक्षित सञ्चालन गर्न एवं स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारलेसमेत समन्वय गरिरहेको छ । काभ्रेपलाञ्चोकको नाला, बनेपा, श्रीखण्डपुर, चौकोट, पनौतीलगायतका स्थानमा नवदुर्गा देवगणको जात्रा मनाइँदै आइएको छ ।

सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक एवं प्रसिद्ध जात्राको रूपमासमेत नवदुर्गालाई लिइने गरिन्छ । मानव समाजमा आधारित नवदुर्गा जात्रा नेपालकै लामो जात्राको रूपमा रहेको दस्तावेजमा उल्लेख गरिएको छ । हरेक वर्ष आठ महिना मकुन्डोसहित ङालाकेगु जात्रा र चार महिना मकुन्डोबिनाको पूजापाठ तथा जात्रा तिथि मिति अनुसार हुने गर्दछ । काठमाडौँको पशुपति, जय बागेश्वरी, मध्यपुर थिमी, टोखा, गोकर्ण, साँखु, साँगा र भक्तपुर नगरभित्र दर्जनौँ स्थानमा ङालाकेगु जात्रा हुने गरेको छ ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु