global ime bank Long Banner Ad

गृहपृष्ठ स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड

स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड

स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन ।

बैठकको विशेष समयमा सांसद मेटमणि चौधरीले स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्ने सम्बन्धमा सरकारले कुनै पहल नगरेको भन्दै यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिए । स्वर्गद्वारी गुठीको समस्या समाधान गर्न सदनको पनि ध्यानाकर्षण गराउँदै यससम्बन्धी तत्काल कानुन ल्याउनु जरुरी रहेकामा जोड दिँदै उनले कानुन अनुसार कदम चाल्न सरकारको पनि ध्यानाकर्षण गराए।

सांसद रञ्जुकुमारी झाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नियमअनुसार महिलाले सचिव हुने अवसर आएको बेला त्यसो हुन नसकेकामा गुनासो गरिन । उनले कुनै पनि अर्थमा महिलालाई अवसरबाट वञ्चित गराउने काम नगर्न-नगराउन सम्बन्धि सबैलाई आग्रह गरिन ।

सांसद अब्दुल खानले नक्कली नोट छाप्ने र ठगी गर्ने गिरोहका नाइकेलाई सप्तरीको स्थानीय प्रशासनले चासो देखाउन नसकेको भन्दै आपत्ति प्रकट गरे । उनले बर्दियाका नागरिकले स्वास्थ्य सुविधा पाउन नसकेका गुनासो आइरहेका भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेखा यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नियमअनुसार डा सङ्गीता मिश्रलाई सचिवमा बढुवा नगरिएकामा आपत्ति प्रकट गरिन । उनले डा मिश्रको नाम पहिलो नम्बरमा सिफारिस हुँदासमेत सचिव नबनाएर समावेशिताको सिद्धान्त पालना नभएको आरोप लगाइन।

सांसद रामप्रकाश चौधरीले केही दिन पहिले जङ्गली हात्तीको समूहले लालबन्दीमा किसानको खेतीबाली नष्ट पारेकाले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे । उनले स्थानीय किसानद्वारा उत्पादित तरकारीको प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र (कोल्डस्टोर)को प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले आफूहरू सत्तापक्ष र प्रतिपक्षको खबरदारी गर्दै सच्चा रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै सहिदको वास्तविक सम्मान हुने वातावरण बनाउनुपर्ने बताए । मानवअधिकारको गम्भीर उल्लङ्घन गर्नेलाई सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद महेश बस्नेत, सिता मिजार, मैना कार्कीले विशेष समयमा राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु