गृहपृष्ठ बागमती गोल्डकप आगामी शनिबारदेखि
बागमती गोल्डकप आगामी शनिबारदेखि
बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताए। गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित सङ्कटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिए।
आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहने यस प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख, उपविजेताले रु पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले ३० लाख विनियोजन गरेको छ ।
प्रकाशित समय : १०:०४ बजे


















