global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताएका छन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आज हुम्लामा निर्माण हुन लागेको हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् कम्पनीसँग ग्रिड कनेक्सन सम्झौता कार्यक्रममा मन्त्री खड्काले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदै गर्दा सोहीमात्रामा प्रसारण लाइन समेत विस्तार गर्नुपर्ने उल्लेख गरे ।

भर्खरै सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माण गर्ने व्यवस्थासमेत गरेको उल्लेख गर्दै मन्त्री खड्काले उक्त व्यवस्थाले आगामी दिनमा उत्पादित विद्युत् खेर नजाने बताए । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णालीमा निर्माण गर्न लागेको प्रसारण लाइन तथा सवस्टेशन र निजी क्षेत्रबाट निर्माण हुन लागेको जलविद्युत् केन्द्रले कर्णाली क्षेत्रमा एकैपटक विकासको ढोका खुलेको मन्त्री खड्काले बताए।

“कर्णालीमा जलविद्युत् केन्द्र, प्रसारण लाइन र सवस्टेशन बन्दै गर्दा मोटरबाटोको थप विकास हुँदै जानेछ, यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसले सहयोग पुग्नेछ, कर्णालीवासीको विकासका लागि यो खुसीको कुरा हो”, मन्त्री खड्काले भने । उनले सम्झौतालाई कार्यान्वयनमा लैजानेगरी काम गर्न कम्पनी र निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री खड्काले स्रोत माथिको अधिकार सबैमा हुने भएकाले सरकारले गरीब र विपन्न परिवारलाई सहुलियत दरमा न्यूनतम दुई लाखदेखि पाँच लाखसम्मको जलविद्युत्को शेयर दिनेगरी सरकारले नीतिगत व्यवस्था गरिसकेको बताए । ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक जग्गा प्राप्ति, वनलगायतका समस्या समाधान गर्न सचिवको नेतृत्वमा अन्तरमन्त्रालय समिति गठन गरिएको उल्लेख गरे ।

मुलुकको आर्थिक विकासका लागि सरकारले ऊर्जा क्षेत्रलाई महत्वका साथ अगाडि बढाएको मन्त्री खड्काले उल्लेख गरे । ऊर्जा खपत बढाएर ग्यास, पेट्रोल आयतलाई न्यूनीकरण गर्नेगरी सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताललगायतले सरकारको लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हुम्लाको कर्णाली नदीदेखि कालीकोटको फुर्कोट, सुर्खेतको बेतन हुँदै कञ्चनपुरको दोधारासम्म प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए। उक्त प्रसारण लाइनको लम्बाई एक सय ८१ किलोमिटर हुनेछ ।

हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माण गरेको प्रसारण लाइन तथा सवस्टेशनसम्म जोड्न आज कम्पनीले उक्त जलविद्युत् केन्द्रको लगानीकर्ता कम्पनीसँग सम्झौता गरेको हो । हुम्ला कर्णाली १ र २, रुरु जलविद्युत् परियोजना लिमिटेड तथा तिला–२ ऊर्जा तिला पावर कम्पनी प्रालीले निर्माण गर्न लागेको हो ।

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु