गृहपृष्ठ भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’
भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताए । आर्थिका वर्ष २०८०र८१ मा वडाको बजेटबाट रू दश लाख विनियोजन गरेर दुई सय १६ घर र यसअघि निर्माण भएका धारासहित चार सय ६८ घरमा पानी सञ्चालन गरिएको भनाइ छ । वडामा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उनको भनाइ छ ।
“हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ”, वडाध्यक्ष थापामगरले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पानी पुर्याउन सफल भएका छौँ । यसले स्थानीयको वर्षौंदेखि पानीको समस्या समाधान भएको छ ।” वडाले अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको स्थानीयवासी कल्पना भट्टराईले बताए । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको भनाइ छ ।
“घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भने, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नुपर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।” घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयवासी सरस्वती भट्टराईले बताए । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारीमा प्रयोग गर्दै आएको उनको भनाइ छ । “विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनेले भन, “अेहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”
धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताए । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा वितरण गर्दै आएको दिए । “यहाँका सबै स्थानीयको घरमा धारा पुगेको अवस्था छ”, उनले भने, “पानीजन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।”
प्रकाशित समय : १०:३१ बजे



















