गृहपृष्ठ कोरोना प्रभावितलाई बैंकको ब्याज तिर्ने समय थप्न परिपत्र गर्दै राष्ट्र बैंक
कोरोना प्रभावितलाई बैंकको ब्याज तिर्ने समय थप्न परिपत्र गर्दै राष्ट्र बैंक
नेपाल बैंकर्स संघले नोवेल कोरोनाभाइरस (कोभिड-१९)का कारण आम्दानी घट्नेहरूका लागि ब्याज तिर्ने समय थप हुनसक्ने जनाएको छ । बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहालले ब्याजदरमा सहुलियत नै भने हुन नसक्ने बताएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिले चैतको ब्याज मिनाहा गर्ने या हर्जाना नलाग्ने गरी परिपत्र गर्ने विषयमा छलफल गरेकत्र थियो । अध्यक्ष दाहालले भने, ‘चैतमा तिर्न नसके वैशाखमा तिर्नु भनिएको हो, कहिल्यै तिर्नु पर्दैन भनिएको होइन ।’
कोरोनाका कारण व्यापार व्यवसाय चौपट भएका व्यापारी व्यवसायीका लागि मात्र साँवा र ब्याज तिर्ने समयावधी थपिने उनले स्पष्ट पारे । ‘ऋण लिँदा देखाएको आम्दानीका आधारमा निर्णय लिइन्छ,’ उनले भने, ‘होटल व्यवसायलगायतका अहिले समस्यामा परेका व्यवसायीले यस्तो सुविधा उपभोग गर्न पाउनेछन् ।’
नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितका लागि ऋणको साँवा र ब्याज एक महिना ढिला तिरे पनि हर्जना नलिने गरी बैक तथा वित्तीय संस्थालाई परिपत्र गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै निजी क्षेत्रले ब्याजदर सहुलियत माग्दै आएको थियो ।
प्रकाशित समय : १७:३६ बजे



















