global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम

मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम

मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम

आज सौरमास गणनाले माघे सङ्क्रान्ति । मधेशका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (तिलासङ्क्रान्ति) पर्वको रौनक छ ।

मधेशमा यो पर्वसँगै ‘लाई’ अर्थात तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सक्खरको खुँदोमा मिलाएर बनाइने लड्डू खाने मौसम सुरु भएको छ । मधेशमा तिलासक्रायत अर्थात् माघेसङ्क्रान्ति पर्वपछि हिउँदभरि खाजामा ‘लाई’ खाने चलन छ ।

तिलासक्रायत आपसी भेटघाट र सद्भावसँग जोडिएको पर्व हुँदा यसमा एकअर्कोलाई डाकेर सँगै ‘लाई’, मुरी, चिउरा खाने ख्वाउने चलन छ । यो पर्वको ‘सनेस’ (कोसेली) पनि ‘लाई’ लाने चलन छ । यस चलनले केही सातासम्म घरघरै ‘लाई’ बनाउने क्रम चल्ने महोत्तरीको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय दीपनारायण चौधरी बताउछन् ।

विवाहित छोरीचेली, मितमितिनी र दोहोरो ‘नौतपिहान’ (इष्टमित्र)कहाँ ‘सनेस’ पठाउने परम्परा छ । यो क्रम आगामी केही दिनसम्म जारी रहन्छ । पर्व मनाई सकिए पनि मधेशका गृहिणीलाई अझै केही दिन ‘लाई’ बनाउने चटारो हुने मटिहानी–७ का बासिन्दा ७० वर्षीय रामकुमार मण्डल बताउछन् । मधेशका आठै जिल्लामा रहेको यो चलनले तिलासक्रायत पर्व आपसी भेटघाटको माध्यम पनि बनेको मण्डल स्पष्ट पार्छन ।

यो चलन यहाँको संस्कृतिको रुपमा रहेको बर्दिबास–६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बताए । ‘लाई’ मजाले चपाएर खाइने हुँदा यसले पाचनक्रिया सहज बनाउनुको साथै सक्खरको सम्मिश्रणले तत्काल ऊर्जा दिने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम खाजा भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुदीपकुमार ठाकुरको भनाइ छ ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु