गृहपृष्ठ मधेशी एकता समाजको दुबईमा कार्यक्रम
मधेशी एकता समाजको दुबईमा कार्यक्रम
मधेशी एकता समाज यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिको पहिचानको लागि समाअले कार्य गर्दै आएको छ । श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष र भव्य बनाएको थियो ।
यसैगरी मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्र्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय र सहअध्यक्षमा राम साह चयन गरेको छ । यसका साथै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरेको छ । कार्यक्रममा एकता समाजका संस्थापक डा। रविन्द्र कुमार यादव र अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरेको थियो ।
डा. यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराए । उनले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिए । मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।
प्रकाशित समय : १५:५९ बजे


















