गृहपृष्ठ फेरिल्यान्ड र ग्रिनल्यान्ड फाइनलमा प्रवेश
फेरिल्यान्ड र ग्रिनल्यान्ड फाइनलमा प्रवेश
फेरिल्यान्ड र ग्रिनल्यान्ड प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–१६ ले पराजित ग-यो । फेरिल्यान्डकी खुश्बु मगरले ७ अंक जोडिन् । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३–२८ ले हरायो । ग्रिनल्यान्डकी विहनी राईले १४ स्कोर गरिन् ।
बूढानीलकण्ठ नगरपालिका ६ को च्यासिन्डोलस्थित जेबी स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी र भ्याली पब्लिक फाइनलमा पुगेका छन् ।
लालीगुराँसले किङडमलाई ३१–२५ ले पाखा लगायो । लालीगुराँसका सर्गम गुरुङले १० अंक बटुले । भ्याली पब्लिकले गोल्डेनपिकमाथि २८–२५ को कठिन जित दर्ता ग-यो । भ्याली पब्लिकका आर्यन गुरुङले ९ अंक जोडे ।
हिमरश्मि यु–१९ भलिबल भोलिदेखि हिम रश्मिको आयोजनामा प्रथम हिम रश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २१ टिमको सहभागिता रहने हिम रश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रिन्सिपल खड्काले राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई कदर गर्नुका साथै विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउदै राष्ट्रिय खेलाडी उत्पादन गर्नु हिम रश्मिको मुख्य उद्देश्य भएको बताए ।
शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल खड्का, हिम रश्मिका अध्यक्ष तीर्थबहादुर गुरुङ, भाइस प्रिन्सिपल नारायण सेढाईं, रेफ्री सह–संयोजक कपिल जिसी र इसीए इन्चार्ज एमपी अम्गाईंले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेका थिए । खेलहरु तार्केश्वर नगरपालिका ९ स्थित आयोजकको कोर्टमा हुनेछ ।
गेटवे क्वाटरफाइनलमा
डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा गेटवेले प्रारम्भलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग-यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । गेटवेका कृजल श्रेष्ठ ‘म्यान अफ द म्याच’ भए ।
हाइली क्रिएटिभ र एकलब्य पनि क्वाटरफाइनलमा पुग्न सफल भए । हाइली क्रिएटिभले विद्या विकासलाई ३–१ गोलले हरायो । हाइली क्रिएटिभका ‘म्यान अफ द म्याच’ गोकुल शर्मा, रिसुक स्थापित र जेनिथ फुयालले समान १–१ गोल गरे । विद्या विकासका केन्जोक लामाले १ गोल फर्काए ।
मूलपानी मैदानमा एकलब्यले शिक्षालयलाई २–१ गोलले पाखा लगायो । एकलब्यका उज्ज्वल खड्काले १ गोल गरे भने अर्को गोल आत्माघाती रह्यो । शिक्षालयका विवस तामाङले १ गोल गरे । शिक्षालयका न्युज थापा ‘म्यान अफ द म्याच’ भए ।
फ्रिडमको दोहोरो जित
फ्रिडम फाइटर क्लबले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । फ्रिडमको ‘ए’ र ‘बी’ दुवै टोलीले विजयी सुरुआत गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमको ‘ए’ ले वाइ वाइ युनाइटेडलाई १०–१ को भारी गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि राजकुमार घिसिङले ४, ‘म्यान अफ द म्याच’ सुरज श्रेष्ठ र विजय गुरुङले समान २–२ तथा विकर्ण श्रेष्ठले १ गोल गरे । एक गोल आत्माघाती थियो । युनाइटेडका सुन्दर लिम्बूले सान्त्वना गोल गरे । फ्रिडम ‘बी’ ले सरस्वतीनगरलाई ३–० गोलले हरायो । विजेताका निलेन्द्र देवान, ‘म्यान अफ द म्याच’ राजु तामाङ र टीकाजित लिम्बूले समान १–१ गोल गरे ।
अन्य खेलमा कपन भेट्रान र बौद्ध भेट्रानले सफलता पाए । कपनले बूढानीलकण्ठलाई २–० गोलले पाखा लगायो । दुवै गोल ‘म्यान अफ द म्याच’ पासाङ शेर्पाले गरे । बौद्धले डिल्लीबजारलाई २–१ ले पन्छायो । बौद्धका ‘म्यान अफ द म्याच’ अमिर लामा र प्रकाश श्रेष्ठले समान १–१ गोल गरे । डिल्लीबजारका बाबु बरालले १ गोल फर्काए ।
प्रतियोगिताको आयोजक वडाका अध्यक्ष विमलकुमार होडा र सोही वडाका पूर्व अध्यक्ष सानुकाजी शाक्यले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा मोफसलका ३ सहित २१ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
मातृभूमि र ज्ञान निकेतन च्याम्पियन
आयोजक मातृभूमि र ज्ञान निकेतनले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । दोहोरो उपाधि जितेको मातृभूमि जुनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो । ज्ञान निकेतन सिनियर ब्वाइजमा च्याम्पियन बन्यो ।
सानोथिमीस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा मातृभूमिले ज्ञान निकेतनलाई ४८–३७ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा मातृभूमिले इनोभेटिभलाई २०–१८ ले हरायो । सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले बौद्ध इन्टरनेसनलले ५६–४८ ले पाखा लगायो ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ, सिनियर गल्र्समा मातृभूमिकी अध्येता शर्मा र जुनियर ब्वाइजमा मातृभूमिका सक्षम महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बौद्धका आरोहण बुढा, सिनियर गल्र्समा मातृभूमिकी वर्षा कार्की र जुनियर ज्ञान निकेतनका दिप्सन अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका सावर मन्सुर, सिनियर गल्र्समा निस्ट, भक्तपुरकी सुदेशना नेपाल र जुनियर ब्वाइजमा मातृभूमिका प्रसिद्धजंग कार्की उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा जेम्स, सिनियर गल्र्समा श्री सञ्जय साइ विद्या मन्दिर र जुनियर ब्वाइजमा चाणक्य अनुशासित टिम ठहरिए ।
प्रकाशित समय : १०:०० बजे



















