गृहपृष्ठ सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।
आज ६–अण्डर ६२ को शानदार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए।
उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन्। उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए। उनले प्रोतर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे।
अन्तिम दिन आज खेलको शुरूवात गर्दा सदभाव निरजभन्दा एक स्ट्रोकले पछि थिए। आज फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो। दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए।
सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे। ११ औँ होल टर्निङ प्वाइन्ट बन्यो। सदभावले बडी प्रहार गरे भने निरजले बोगी खेले। यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए। सदभावले यसपछि १३औँ होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे।
यही अग्रतालाई निरन्तरता दिँदै ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते। निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे। सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे।
प्रकाशित समय : २०:२० बजे



















