दूध बेचेर वार्षिक ३० लाख आम्दानी
वि.सं.२०८१ मंसिर १८ मंगलवार ०६:२९
shares

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएको हो ।
दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिए । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन भएका पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् ।
छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन भएको थियो । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाएको थियो ।
जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गरेको छ ।
दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिए ।
बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गरे । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उहाँले जानकारी दिए ।
दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताए । बंैकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती दिएको नाइ छ ।
भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतले प्रतिक्रिया दिए । गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिए । व्यवसाय विस्तारका क्रममा फार्ममा ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ ।
भारतको विहारबाट एक लाख ३० हजार तिरेर भैँसी ल्याएको जनाउँदै बस्नेतले ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने उल्लेख गरे। समग्रमा वार्षिक रूपमा ३० लाखभन्दा बढी आम्दानी हुने बताउँदै स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
























