global ime bank Long Banner Ad

गृहपृष्ठ के ओली–रविको सम्बन्ध सकिएकै हो ? त्यो सुरुवातदेखि यो अन्त्यसम्म

के ओली–रविको सम्बन्ध सकिएकै हो ? त्यो सुरुवातदेखि यो अन्त्यसम्म

के ओली–रविको सम्बन्ध सकिएकै हो ? त्यो सुरुवातदेखि यो अन्त्यसम्म

बर्षौदेखि स्थापित एउटा नाम – केपी शर्मा ओली ।
बर्षदिनदेखि स्थापित अर्काे नाम – रवि लामिछाने ।

नेपाली राजनीतिमा दोस्तीदेखि दूश्मनीसम्म । प्रेमदेखि घृणासम्म । सत्तादेखि सहयात्रासम्म । हारदेखि हिरासतसम्म । ओली–रवि मित्रता र तिक्तताको सम्बन्धले सतहमा केही नयाँ प्रश्नहरु जन्माएको छ । के ओली–रवि सम्बन्ध सकिएकै हो ? ओलीका लागि रविको औचित्य कसरी समाप्त भयो ? आखिर रवि कहिल्यै नचाहिने पात्र बनेका हुन् ? केही गम्भीर तथ्यबारे चर्चा गरौं ।

२०७९ पुस १० गते । झण्डै मध्यदिउँसोको कुरा हो । काँग्रेसलाई ‘घात गर्दै बात गर्न आउँछु’ भनेपछि नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली तयार भए । किनकि त्योभन्दा अघि नै सम्बन्ध बिग्रिएर प्रचण्डलाई स्वीकार्न ओली तयार थिएनन् । किस्तीमा सरकार बोकेर प्रचण्ड बालकोट पुगेपछि नयाँ रहस्य उद्घाटित भयो । त्यहाँ त सरकारमा जाने जोश लिएर पहिल्यै रास्वपा सभापति रवि लामिछाने पुगिसकेका थिए ।

किनकि २०७९ को आमचुनावपछि एमाले–माओवादी गठबन्धनको सरकार बन्ने गरि रास्वपा निर्णायक शक्तिका रुपमा प्रवेश गरेको थियो । त्यही दिन काँग्रेस–माओवादी गठबन्धन भत्किएर एमाले, रास्वपा र माओवादीसहितको गठबन्धन बन्दै नयाँ सरकार बन्यो । प्रचण्ड प्रधानमन्त्री नै कायम रहे । नयाँ आकर्षणका रुपमा नयाँ सरकारको नयाँ गृहमन्त्री बने, रवि लामिछाने । प्रचण्ड अर्थ आफैसँग राखेर गृह एमालेलाई दिने लाइनमा थिए । तर रविले चाहना व्यक्त गरेपछि ओलीले आफ्नो लोभ त्यागेर गृह रास्वपालाई दिए । राजनीतिमा आएको ६ महिनामै रवि उपप्रधानसहित गृहमन्त्री बने । रविलाई च्यापेर पहिलोपटक ओलीले पोल्टाभरि दिएको सम्भवतः यही घटना थियो ।

यसपछि रास्वपा पनि एमालेप्रति नतमस्तक बन्यो । सरकारमा सहकार्य र एमाले निकट रहन उसले गरेको कष्टलाई देखेर धेरैले ‘भाई एमाले’ भन्न थाले । नागरिकता मुद्दामा रविले पद गुमाए । तर सांसद नभएकै बेला पनि रविलाई गृहमन्त्री बनाउनका लागि ओलीले प्रचण्डलाई दबाब दिएको विषय सार्वजनिक भयो । तर दुई महिनाकै अवधिमा गठबन्धन फेर्दै फागुन ११ गते प्रचण्ड फेरि काँग्रेसकै कित्तामा फर्किए । एमाले सरकारबाट बाहिरियो । केही समयपछि एमालेकै पदचापलाई पछ्याएर रास्वपा पनि बाहिरियो । यतिबेलासम्म पनि रवि र ओलीबीचको सम्बन्ध अटुट नै थियो।

कुरा २०८० फागुन २१ को हो । काँग्रेससँगको गठबन्धन भत्काएर प्रचण्ड फेरि एमाले–रास्वपासहितको कित्तामा फर्किए । पद गुमाएर, पुनः नागरिकता प्राप्तिसहित उपनिर्वाचन जितेर रवि संसदमा फर्किएका थिए । काँग्रेसलाई धोका दिएर प्रचण्ड फेरि एमालेकै कित्तामा आउन चाहेपछि सहकार्यको पहिलो रोजाईमा रवि परे । अर्थात् प्रचण्ड नेतृत्वकै सरकारमा रविलाई फेरि गृहमन्त्री बनाउने पनि ओली थिए । फागुन २३ रवि उपप्रधानसहित गृहमन्त्री बने । उनको कार्यकालमा आशातित उपलब्धी हात नपरेपनि माओवादीका कृष्णबहादुर महरादेखि, कान्तिपुरका मालिक हुँदै गिरीबन्धु प्रकरणका बिचौलिया बेचन झासम्म पक्राउ परेका थिए । तर २०८१ असार १५ गते देउवा दाम्पत्ति दाहीँ चिउरा खाने बाहना बनाएर बालकोट पुगेपछि प्रचण्डसँग सहकार्य तोड्दै एमाले–काँग्रेस समीकरणको सरकार बन्ने सहमति बन्यो ।

अर्थात प्रचण्डबाट पटकपटक धोका खाएकाहरु एक ठाउँमा उभिने भए । ओलीको सत्तापलटसँगै प्रचण्ड र रविले असार ३० गते सरकारबाट हात धोए । त्यसपछि एमाले–रास्वपाको सहकार्यसमेत टुंगियो । ओली नेतृत्वको सरकारमा काँग्रेसका रमेश लेखक गृहमन्त्री बने । आफु गृहमन्त्री हुँदा रविले रोक्न लगाएको सहकारी प्रकरण एकाएक बल्झियो । काँग्रेसले संसदमा जबरजस्त माग उठाएर रविविरुद्ध छानबिन हुनुपर्छ भन्दा प्रतिवाद गर्ने प्रमुख पात्र नै ओली देखिन्थे । तर काँग्रेसले संसद नै अवरुद्ध पारेपछि सबै दल सहमत हुँदै संसदीय छानबिन समिति बन्यो । संसदीय समितिले रविलाई कारबाही सिफारिस गर्‍यो । त्यसको केहीसमयपछि कात्तिक २ गते रवि लामिछाने पक्राउ परे । पक्राउ परेलगत्तै रविले यो देशको सबैभन्दा भ्रष्ट व्यक्ति नै ओली भएको ठोकुवा गरे ।

रविको यो भनाई पछि नै ओलीसँगको सम्बन्धले तिक्तताको हद पारेको प्रस्ट पारेको थियो । ओलीलाई अझै आक्रोशित पार्ने भनाई पनि यही थियो । जसको ओलीले खुलेर विरोध गरेका छन् । ‘अहिले एकदम कराएर त्यो केपी ओलीजस्तो भ्रष्टाचारी कोही छैन, त्यसलाई प्रधानमन्त्री रहन दियो भने देश बर्बाद हुन्छ भनिरहेका छन् ।’, उनले भने, ‘ती बाबु (रवि) नजन्मिँदै म राजनीतिमा लागेको हो ।’ ओलीको आक्रोश यतिकैमा साम्य भएन । ‘चित्रगुप्त छ भने उसलाई पनि, तपाईं वा अर्को कसैलाई पनि म जवाफ दिनसक्छु । मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । दबाब र कुप्रचारबाट, झुट प्रचारबाट आफ्नो मुद्दा र देशलाई पनि भ्रमको भूमरीमा हाल्न खोज्ने त्यस्ता प्रयास नगरे हुन्छ ।’

ओलीले जबलेस भएका बेला जागिर दिएर गुण लगाएको समेत दाबी गरेका छन् । ‘रवि बाबु ‘जब लेस’ भएर हिँडिरहेको बेला मकहाँ आउनुभयो ।’, उनले भने ‘मलाई कुनै जब दिनुपर्‍यो, म अप्ठेरोमा छु भन्नुभयो । मैले के जानेको छ भन्दा बोल्ने कला छ भन्नुभयो । पत्रकारिता गर्न सक्छौ भने म बाबुकै लागि एनटीभीमा एउटा प्रोग्राम राख्छु– ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ । त्यसको पैसा पनि एनटीभीलाई तिर्नु पर्दैन । त्यो मेरो प्रोग्राम हो । विज्ञापन उठाएर जीविका चलाउन २–४ लाख, ४–५ लाख उठ्ने बाटो त्यहाँबाट बन्यो ।’

रवि पक्राउ परेपछि रास्वपाले पोखरामा केपी ओली मूर्दावादको नारा लगाएको थियो । चितवनमा रास्वपाका नेता कार्यकताले ओलीको ‘शवयात्रा प्रदर्शन’ गरेका थिए । जसको पनि प्रतिवाद ओलीले गरेका छन् ।

मुख्यतः केपी ओली र रवि लामिछानेबीच दरार आउनुका पछाडी यीनै घट्नाक्रमको भूमिका अहम छ । रास्वपा केपी ओलीकै पहलमा रविविरुद्धको छानबिन समिति नबनोस् भन्ने पक्षमा थियो । तर बन्यो । ओलीकै निर्देशनमा आफुमाथि छानबिन नहोस् भन्ने पक्षमा रवि थिए, तर भयो । फलतः ओलीसँग चिड्ढीएको रास्वपाले गिरीबन्धुमा समेत ओलीको नाम जोडेर कारबाही गर्नुपर्ने आवाज उठायो । अहिले रवि ३३ दिनदेखि हिरासतमा छन् । तर रास्वपाका नेताहरुलाई ओलीले भेटको समय दिएका छैनन् ।

अहिले अवस्था यस्तो बनेको छ, कुनैबेला किर्तेप्रसाद ओली भन्दै आलोचना गर्ने काँग्रेस महामन्त्री गगन थापा निकट छन् । उस्तै परे उनलाई ओली क्याविनेटकै मन्त्री बनाउने तयारी चलेको छ । तर सत्ताका लागि सधैं ओलीले भनेको मान्दै आएका रवि अहिले खराब सम्बन्धको शिकार बनेका छन् । तर ओली–रविबीचको सम्बन्ध त्यो दिन सुध्रिने छ, जुनदिन एमाले–काँग्रेस समीकरण भत्किने छ । किनकि एमाले–काँग्रेस समीकरण भत्किएलगत्तै सरकार बनाउन चाहने निर्णायक संख्या रास्वपासँग छ । रास्वपाको २१ सिट काँग्रेस, एमाले वा माओवादी जोकोहीलाई पनि आवश्यक पर्नेछ । त्यसो हुँदा अहिले थुन्न तयार भएकाहरु नै भोलि रविलाई निकाल्न तयार हुनेछन् । किनकि नेपाली राजनीतिमा दूरी बढ्नु भनेको वास्तविकताभन्दा बढी कृतिम हो ।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु