global ime bank Long Banner Ad

गृहपृष्ठ मतदातासँग सघन भेटघाटमा उम्मेदवार

मतदातासँग सघन भेटघाटमा उम्मेदवार

मतदातासँग सघन भेटघाटमा उम्मेदवार

अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्हसमेत पाएपछि महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को स्थानीयतह उपनिर्वाचनका उम्मेदवार मतदातासँग सघन भेटघाटमा छन् । जिल्लामा एउटा मात्र वडामा भइरहेको उपनिर्वाचनमा अहिले रामगोपालपुर–२ का घरघरमा उम्मेदवार र समर्थकहरू पुग्न थालेका हुन् ।

निर्वाचन आयोगले बुधबार मनोनयन फिर्ता लिएर बाँकीलाई निर्वाचन चिन्ह प्रदान गरेपछि उम्मेदवारको मतदातासँगको भेटघाट बाक्लिएको हो । रामगोपालपुर–२ मा हुने उपनिर्वाचनअन्तर्गत चुनावी मैदानमा सात दलका र ११ स्वतन्त्रसहित १८ जना उम्मेदवार छन् ।

बीस जनाले उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका थिए । हिजो बुधबार जनमत पार्टीका ललिन्द्रकुमार साह र स्वतन्त्र विमलेन्द्रकुमार यादवले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार छन् । सबै उम्मेदवार एकपछि अर्को गर्दै घरघरमा मतदातासँग भेट्ने क्रम बढेसँगै यहाँका मोहनपुर, टेङर र बसबिट्टी बस्तीमा अहिले चुनावी वातावरण तातेको छ ।

चुनावी मैदानमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्रमशः मोहम्मद जनिफ खाँ, सकिबुल खाँ, आइतीकुमारी यादव र खुरसेद खाँ उम्मेदवार छन् । यसैगरी जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनता पार्टीबाट क्रमशः मोहम्मद नजामुद्दिन खाँ, मोहम्मद मनान खाँ र राजेशकुमार यादव प्रतिस्पर्धामा छन् ।

यी बाहेक ११ जना स्वतन्त्र उमेदवारमा विजयकुमार सिंह, रामऔतार यादव, राजदेव यादव, राकेशकुमार यादव, मोहम्मद इमामुद्दिन खाँ, मोहम्मद अरमान रजा खाँ, मुकेश्वर ठाकुर, नजामुद्दिन खान, धीरेन्द्रप्रसाद यादव, गङ्गाप्रसाद यादव र अशोककुमार यादव छन् ।

यसअघि विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मुकेशकुमार यादवको दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यही मङ्सिर १६ गते हुने मतदान तालिकाको निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारी दिएका सबै आ–आफ्नो जितको दाबी गर्दै छन् । जिल्लाभरिमा एक ठाउँमात्र हुन लागेको उपनिर्वाचनमा सबैजसो दलका केन्द्रदेखि जिल्ला र नगरतहसम्मका नेता, कार्यकर्ता अहिले रामगोपालपुर–२ केन्द्रित छन्।

यस वडामा यसपालि मतदान गर्न पाउने दुई हजार एक सय ४१ मतदाता रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय रामगोपालपुर–२ ले जनाएको छ । जसमा एक हजार दुई सय एक पुरुष र नौ सय ४० महिला मतदाता रहेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।

उपनिर्वाचन कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र अन्य आवश्यक सामग्री तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आममतदातालाई निर्भय भई मतदानमा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु