गृहपृष्ठ ‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी

‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी

‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी

ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुरु गरेको छ ।

विराटनगरका एक जना व्यापारीलाई काठमाडौँमा बोलाएर एक युवतीले होटेलमा भेटघाटका क्रममा भैँसेपाटी प्रहरीले नियन्त्रणमा लिई बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रुपिँया असुली गरेको घटना बाहिर आएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले हनी ट्र्यापमा प्रयोग भएकी सुषमा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवलदार महेन्द्र हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरी प्रधान कार्यालयले सो घटनाको अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेको छ । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले सो घटनाबारे अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । थापाले सो घटनामा ललितपुर प्रहरीले अनुसन्धान गरेको सम्पूर्ण फाइल झिकाइएको पनि जानकारी दिए । सो घटनामा एक प्रहरी उपरीक्षकसहित अन्य व्यक्तिको पनि संलग्नता देखिएको र घटनाको प्रकृति हेर्दा सङ्गठित अपराध कसुर देखिने गरी प्रमाण फेला परेपछि अनुसन्धानको जिम्मा सिआइबीलाई तोकिएको हो ।

सो घटनाका मुख्य आरोपी भैँसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेकी शाही फरार छन् भने पक्राउ परेकाविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु