गृहपृष्ठ हुम्लामै उत्पादित स्याउको जुस र जाम बजारमा बिक्री सुरु
हुम्लामै उत्पादित स्याउको जुस र जाम बजारमा बिक्री सुरु
स्थानीय स्याउबाट उद्यमीले जाम र जुस उत्पादन गरेर बजारमा पठाउन सुरु गरेका छन्। गुणस्तर विभागबाट उक्त जुस र जामले गुणस्तरीय भएको अनुज्ञापत्र प्रदान गरेपछि उद्यमीले त्यसलाई लेभल लगाएर बजारमा बिक्री सुरु गरिएको छ।
जिल्लामै उत्पादन भएको स्याउबाट जाम र जुस उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाउन सुरु गरिएको सञ्जय कृषि तथा खाद्य उद्योगका सञ्चालक तुथासरा बोहराले बताइन्।
यसअघि नै उद्योग स्थापना गरिएको थियो। उत्पादन गरिएको स्याउको जुस र जामलाई बजारमा जानुअघि गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतमा पठाएर ल्याव परीक्षणपछि गुणस्तर मापनका अनुज्ञापत्र पाएको थियो। सो पत्र पाएपछि बिक्री सुरु गरिएको उनले बताइन्।
हाललाई स्याउको जुस दुई सय लिटर, जाम आधा केजीको १५० बोटल उत्पादन गरेर बिक्री सुरु गरिएको हो।
जुसप्रति लिटर तीन सय रुपैयाँ र जाम आधा केजीको दुई सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ। दुवै उत्पादन उपभोक्ताले मन पराएपछि माग बढी छ।
प्रकाशित समय : २१:५३ बजे



















