गृहपृष्ठ हनुमाननगर–राजविराज सडक जीर्ण, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु
हनुमाननगर–राजविराज सडक जीर्ण, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु
दसैँ, तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा सप्तरीका मुख्य सडक मर्मत हुन सकेका छैनन् । हनुमाननगर–राजविराज सडकखण्ड जीर्ण हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सदरमुकाम राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् । मंसापुर भन्ने स्थानमा ५-६ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बताए ।
सडेपार र मंसापुरको बिचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ । सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दसैँमा हजारौँ भक्तजन यात्रा गर्ने गर्छन् । भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा दसैँमा भिड लाग्ने गर्दछ ।
तर, यिनै मन्दिर पुग्ने सडकको अवस्था नाजुक हुँदा आवतजावतमा समस्या भएको सवारी चालक रमेन यादव बताउँछन् । राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पूरै भत्किएर जीर्ण छ । सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ । कतिखेर गाडी पल्टिन्छ टुङ्गो हुन्न, उनले भने ।
खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायतका सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रुहरू बताउँछन् । वर्षौंदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयवासीको गुनासो छ ।
प्रकाशित समय : १३:५५ बजे