global ime bank Long Banner Ad

गृहपृष्ठ यो बर्ष किन छापिएन नयाँ नोट ?

यो बर्ष किन छापिएन नयाँ नोट ?

यो बर्ष किन छापिएन नयाँ नोट ?

गत बैशाख २० गतेको मन्त्रिपरिषद्काे बैठकले चुच्चे नक्सासहित नयाँ नोट छाप्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सासहितको डिजाइन परिमार्जन गर्न अनुमति पनि दिएको थियो । तर अहिलेसम्म त्यो नोट छापिएको छैन । नेपाल राष्ट्र बैंक ऐन– २०५८ ले नेपाली नोट छाप्ने सम्पूर्ण जिम्मा राष्ट्र बैंकलाई दिएको छ । नोट छापिँदाको सम्पूर्ण प्रक्रिया केन्द्रीय बैंक आफैँले गर्छ । साधरणतया एउटा चक्रमा नोटको छपाइ गर्दा तीनदेखि साढे तीन वर्षसम्म पुग्ने हिसाबले छपाइ गर्ने चलन छ । तथापी हरेकबर्ष जसो नयाँ नोटहरु छापिँदै आएका छन् । त्यसमा पनि दशैं तिहारजस्ता चाडपर्बलाई लक्षित गरि नयाँ नोट छाप्ने अभ्यास पनि छ । तर यसबर्ष राष्ट्र बैंकले नोट नछाप्ने निर्णय गरेको छ । आखिर किन त ? नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यसँग न्यूजकारोबारकर्मीले कुराकानी गरेका छन् । जसको सम्पादित अंश यस्तो छः

नेपाल राष्ट्र बैंकले हरेक बर्षजसो दशैंकै मौका पारेर नयाँ नोट छाप्ने र बजारमा पठाउने गरेको थियो । यसपटक त्यो सुरसार देखिएन । किन होला ?

पहिलो कुरा त, नेपाल राष्ट्र बैंकले भने दशैं तिहारलाई नै लक्षित गरि नयाँ नोट छाप्ने होइन । लामो प्रक्रिया पछिमात्रै नयाँ नोट छापिने निर्धारण हुन्छ । देशभित्र पनि छापिदैँन, विदेशमा छापिन्छ । ग्लोबल टेण्डर गरेर त्यसबाट क्वालिफाइड कम्पनी सर्टलिस्ट गरेर, सस्तोमा गुणस्तर नोट जसले छाप्छ उसैलाई जिम्मा दिने गरिएको छ । त्यसरी छापिएको नोटलाई ल्याएर स्टकमा राख्ने र आवश्यकता अनुसार बाहिर ल्याउने हो । चाडपर्वलाई लक्षित गरेर छाप्ने होइन ।

भनेको, विगतमा त दशैं तिहारलाई लक्षित गरि नयाँ नोट बाहिर ल्याउने चलन थियो नी ?

अहिले नछाप्ने भन्नुको अर्थ हामीसँग नयाँ नोट नभएर होइन । नोट छ । तर कस्तो भन्दाखेरी, साना खुद्रा नोट साटिदिने, चाडपर्बमा चलाउने र चलाएपछि कारोबारमा नआउने हुँदा थुप्रिएर रहने अवस्था छ । हाम्रो मुद्रा व्यवस्थापन विभागले गरेको सर्वेक्षणमा पनि त्यो देखिएको थियो । त्यसकारणले हामीले हाम्रा प्रयोगयोग्य नोटहरु जसलाई हामी सुकिला नोट भन्छौं, ति नोटहरु बाहिर निकाल्ने तर नयाँ नछाप्ने भन्ने निर्णय गरेका छौं ।

त्यसो भए, नयाँ नोट छाप्ने चाहीँ कहिले हो त ?

गतबर्ष यसैबेला हामीले छापेका थियौं । तर ठ्याक्कै यति नै खेरी छाप्ने भन्ने हुँदैन । जस्तो ५० को नोट एउटा समयमा छापिएर आउँला, एक समयको अर्काे समयमा छापिएर आउँला । एउटैबाट छापिएर एउटै समयमा आउने भन्ने हुँदैन । विभिन्न दरका नोटहरु विभिन्न कम्पनीबाट विभिन्न समयमा छापिएर आउने गर्छन् ।

गत बैशाखमा सरकारले नयाँ नोट छाप्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको थियो । त्यसमा एक सय रुपैयाँको नयाँ नोटमा चुच्चे नक्सा राख्ने निर्णय पनि भएको थियो । त्यो नोट त अहिलेसम्म देखिएन ?

त्यसको मुख्य जिम्मेवार त मुद्रा व्यवस्थापन विभाग नै हो । सरकारबाट स्वीकृत भएपछि छाप्नुपर्ने हो ।

भनेको चुच्चे नक्सासहितको नोट अहिलेसम्म छापिएको छैन नी है ?

अहिलेसम्म छैन ।

चुच्चे नक्सामा भारतको असन्तुष्टि भएकै कारण प्रधानमन्त्रीमा ओली आउन बित्तिकै नयाँ नोट छपाईँ पनि रोकिएको भन्ने चर्चा छ नी । सरकारले त्यही भएर तपाईँहरुलाई नोट छाप्न रोकेको हो ?

त्यस्तो त जानकारीमा भएन । यो राजनीतिक विषय भयो । हामीलाई थाहा हुने कुरा भएन ।

हामीले अहिले कुन कम्पनी वा कुन देशमा नोट छापिरहेका छौं ?

कहिलेकाहीँ चीनले पनि छाप्न सक्छ । कहिलेकाहीँ बाहिर पनि छापिँदै आएको छ । सबैभन्दा गुणस्तरमा कुन कम्पनीले छाप्न सक्छ, उसैलाई दिने गरिएको छ ।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु