global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए । “यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।” युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उहाँले जानकारी दिए ।

युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताए ।  युरिया तीन सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।

“चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ”, शर्माले भने । कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको बताए ।

युरिया प्रतिबोरा आठ सय ८१ दशमलव ५० पैसा, डिएपी दुई हजार तीन सय ३१ दशमलव ५० पैसा, पोटास एक हजार सात सय ३१ दशमलव ५० पैसा र कृषि चुन चार सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैया ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैया ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब छ करोड बराबरको रासायनिक मल खपत भएको थियो ।

पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए। मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका–५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए । “किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुसी छौँ । धान रोप्ने समयमा पर्याप्त मल पायौँ । त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ”, उनले भने।

प्रकाशित समय : ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु