गृहपृष्ठ दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी
दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।
बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।
विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उनले बताए । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उनले सुनाए ।
प्रकाशित समय : १९:४८ बजे



















